close

टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ बन्यो सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल

टेकपाना टेकपाना

जेठ २०, २०८१ ९:२१

टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ बन्यो सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल

काठमाडौं । ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल सबैभन्दा बढी सब्सक्राइबरर भएको युट्युब च्यानल बनेको छ । सब्सक्राइबरका हिसाबले निरन्तर छ वर्षदेखि सबैभन्दा शीर्ष स्थानमा रहेको भारतको टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ आइतबार सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल बनेको हो । 

अमेरिकी नागरिक जिम्मी डोनाल्सनले सञ्चालन गर्दै आएको सो च्यानलमा २६ करोड ६९ लाख बढी सब्क्राइबर छन् भने दाेस्राे स्थानमा झरेकाे टी-सिरिजमा २६ करोड ६७ लाख बढी सब्सक्राइबर रहेका छन् ।

टी-सिरिजलाई पछि पारेपछि मिस्टर बिस्टले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै छ वर्षपछि प्युडिपाईको बदला लियौं भनेका छन् । अर्थात छ वर्षअघि युट्युबमा सबैभन्दा पहिले १० करोड सब्सक्राइबर कुन च्यानलले पुर्‍याउँछ भन्ने होड चलेको थियो ।

त्यतिबेला प्रतिस्पर्धामा प्युडिपाई र टी-सिरिज थिए । १० करोड सब्सक्राइबर पूरा गर्नका लागि विभिन्न अभियानहरू पनि चलाइए । अन्ततः स्विडेनका युट्युबर प्युडिपाईलाई पछि पार्दै टि-सिरिज १० करोड सब्सक्राइबर पूरा गर्ने पहिलो युट्युब च्यानल बनेको थियो । त्यसबखत मिस्टर बिस्टले प्युडिपाईलाई खुलेरै सहयोग गरेका थिए । 

युट्युब च्यानल कति ठूलो छ भनेर मापन गर्ने एउटा तरिका हो, सब्सक्राइबरको संख्या । जति धेरै सब्सक्राइबर, उति ठूलो च्यानल । यसमानेमा भारतको टी-सिरिज सबैभन्दा ठूलो युट्युब च्यानल थियो । भारतीय संगीत रेकर्ड लेबल र फिल्म निर्माण कम्पनी टी-सिरिज सबैभन्दा धेरै हेरिएको हो भने यसअघि सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल थियो । 

अहिले इन्टरनेटको दुनियाँमा यी च्यानलको प्रत्यक्ष सब्सक्राइबरको गन्तीहरू पनि थुप्रै भेटिन्छन् । ‘मिस्टर बिस्ट भर्सेस टी-सिरिज’ लेखेर सर्च गर्ने हो भने यस सम्बन्धी विभिन्न नतिजा भेटिन्छन् । मिस्टर बिस्ट आफैंले पनि हालै युट्युब सब्सक्राइबरको लाइभ गन्ती गर्ने प्लेटफर्म  सार्वजनिक गरेका थिए । 

यसो त मिस्टर बिस्टले युट्युबमा व्यक्तिगत रुपमा सबैभन्दा धेरै सब्सक्राइबर भएको रेकर्ड तोडेका थिए । यस मामलामा उनले प्युडिपाईलाई नोभेम्बर २०२२ मा उछिनेका थिए ।

मिस्टर बिस्ट नगद तथा अन्य वस्तुको पुरस्कार र परोपकारी कार्य देखाउने भिडिओका लागि चर्चित छन् । मनोरञ्जनात्मक भिडिओ सामग्री र दर्शकहरूसँग लगातार जोडिरहने भएकाले यो च्यानललाई ठूलो सफलता मिलेको बताइन्छ ।

फ्यानहरूले भने यी दुई च्यानललाई राष्ट्रियतासँग जोडेर हेर्न थालेका छन् । यसमा मिस्टर बिस्टले गत वर्ष नै सामाजिक सञ्जाल एक्समार्फत देश-देशबीच केही नहुने र आफ्ना भारतीय फ्यानलाई पनि उत्तिकै प्रेम गर्ने बताइसकेका छन् । यसका साथै उनले आफ्ना फ्यानहरूलाई यस्तो नगर्न सुझाएको बिजनेस इन्साइडरले लेखेको छ । 

नेपालमा समेत मिस्टर बिस्टका उल्लेख्य फ्यान फलोअर छन् । यसअघि एक नेपाली अस्पताल मर्मत गर्न उनको टोली नेपाल आएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ ११:२४