close

अस्पताल बनाएर नेपालीलाई गुन लगाएका मिस्टर बिस्ट, जो आफ्नै दममा ३० वर्ष नपुग्दै बने अर्बपति

टेकपाना टेकपाना

जेठ १२, २०८२ १६:३१

अस्पताल बनाएर नेपालीलाई गुन लगाएका मिस्टर बिस्ट, जो आफ्नै दममा ३० वर्ष नपुग्दै बने अर्बपति

काठमाडौँ । सन् २०१७ मा जिमी डोनाल्ड्सन (मिस्टर बिस्ट) ले युट्युबमा एक अनौठो लाइभ भिडिओ अपलोड गरे । झण्डै ४४ घण्टा लामो भिडिओमा उनले एकदेखि एक लाख अङ्कसम्म गनिरहेका थिए । युट्युबमा यस्तो ‘स्टन्ट’ देखाउँदै उनी एकाएक भाइरल बने ।

हाल २८ वर्षीय मिस्टर बिस्ट अर्बौं डलरको सम्पत्ति भएका युट्युबर बनेका छन् । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानलका धनी बिस्ट आधिकारिक रूपमा अर्बपतिहरूको सूचीमा परेका छन् । सेलिब्रेटी नेट वर्थ (Celebrity Net Worth) नामक प्लेटफर्मका अनुसार उनी आफ्नै कमाइबाट ३० वर्षभन्दा कम उमेरमै अर्बपति बन्ने एक मात्र व्यक्ति हुन् । उनी कम उमेरका आठौं अर्बपति पनि बनेका छन् ।

हुन त फोर्ब्स म्यागजिनले यसअघि नै मिस्टर बिस्टलाई शीर्ष कन्टेन्ट क्रियटरका रूपमा स्थान दिएको थियो । फोर्ब्सका अनुसार अक्टोबर २०२४ सम्म उनीसँग साढे आठ करोड डलर सम्पत्ति थियो ।

तर, सन् २०२३ मा उनको फास्ट फुड चेन ‘बिस्ट बर्गर’सँग सम्बन्धित एक मुद्दाको अदालती कागजात बाहिर आएपछि उनको वास्तविक सम्पत्तिबारे विवरण बाहिर आएका थिए । ती विवरण अनुसार त्यस वर्ष बिस्टले कूल २२.३ करोड डलर आम्दानी गरेका थिए । त्यस्तै सन् २०२४ मा उनले ७० करोड डलर कमाउने अनुमान गरिएको थियो । 

यी कागजातबाट मिस्टर बिस्ट आधिकारिक रूपमा पहिलो पटक जुन २०२४ मा २६ वर्षको उमेरमा अर्बपति बनेका थिए । ३० वर्षमुनिका विश्वका १६ अर्बपतिमध्ये उनी कुनै पनि विरासतमा प्राप्त सम्पत्ति बिनै अर्थात् पूर्ण रूपमा आफैँले आर्जेको सम्पत्तिले धनाढ्य भएका एक मात्र व्यक्ति थिए । 

हुन त मिस्टर बिस्ट आफ्नो बैंक खातामा १० लाख डलरभन्दा कम राख्ने गरेको बताउँछन् । फेब्रुअरी २०२५ को एक पडकास्टमा उनले आफू कागजमा मात्र अर्बपति भएको र बैंक खातामा वास्तवमा १० लाख डलरभन्दा कम भएको बताएका थिए । “म अर्बपति हुँ, तर कागजमा मात्र,” बिस्टले भनेका थिए, “मसँगै बैंकमा १० लाख डलरभन्दा कम रकम छ । म आफूमा निकै कम खर्च गर्छु ।” 

यसबाहेक मिस्टर बिस्टले आफूले जम्मा गरिरहेको सम्पूर्ण सम्पत्ति राख्ने वा हस्तान्तरण गर्ने योजना नबनाएको बताएका थिए । उनले यो सबै सम्पत्ति खाँचोमा परेकालाई दान गर्ने बताउँदै आएका छन् । 

९ डिसेम्बर २०१९ मा उनले एक ट्वीट गरे, “मलाई थाहा छ, धेरैले यो कुरा विश्वास गर्दैनन् । तर मेरो जीवनको मुख्य लक्ष्य धेरै पैसा कमाउनु हो,” उनले लेखेका थिए, “त्यसपछि मर्नुअघि सकेसम्म धेरै राम्रो काम गर्दै सबै दान गर्नु हो । म अर्थहीन जीवन जिउन चाहन्नँ । म प्रभाव पार्न चाहन्छु र बुढेसकालमा सन्तुष्ट हुन चाहन्छु !”

नर्थ क्यारोलाइनाका यी युट्युबरले कसरी एक अर्ब डलर कमाए त ?

मिस्टर बिस्टले १३ वर्षको उमेरमा सन् २०१२ मा युट्युब यात्रा सुरु गरेका थिए । तर, २०१६ को मध्यसम्म उनका लगभग ३० हजार सब्सक्राइबर मात्र थिए । पूर्णरूपमा युट्युबमा जम्ने योजना बनाएपछि उनले कलेज छाडे र पूर्णकालीन रूपमा कन्टेन्ट निर्माणमा जोड दिए । 

हाल उनको मुख्य च्यानलमा ३९ करोड सब्सक्राइबर छन् । यो विश्वकै सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल हो । दोस्रोमा रहेको टी-सिरिजमा मिस्टर बिस्टभन्दा १० करोड कम अर्थात् २९ करोड ४० लाख बढी सब्सक्राइबर छन् । 

बिस्टको दोस्रो च्यानल 'मिस्टर बिस्ट टु' मा पाँच करोड बढी सब्सक्राइबर छन् । त्यस्तै बिस्ट रियाक्ट्स नामक च्यानलमा तीन करोड ५७ लाख बढी सब्सक्राइबर छन् । बिस्टले परोपकारी कामका लागि प्रयोग गर्दै आएको युट्युब च्यानल बिस्ट फिलान्थ्रोपीमा दुई करोड ७९ लाख बढी सब्सक्राइबर रहेका छन् । त्यसैगरी मिस्टर बिस्ट गेमिङ नामक च्यानलमा चार करोड ७७ लाख बढी सब्सक्राइबर छन् । 

युट्युबको यात्रा सुरु गर्दै गर्दा बिस्ट भिडिओ गेम कमेन्ट्री, रियाक्सन भिडिओ र मिम रियाक्सन जस्ता काम गर्थे । उनले एउटै लाइभ भिडिओमा एक लाख अङ्कसम्म गणना गरेको भिडिओ सबैभन्दा पहिले भाइरल भएको थियो । त्यसपछि उनले दुई लाखसम्म गन्ने, पूरै शब्दकोश पढ्ने र दश घण्टासम्म एउटै म्युजिक भिडिओ लगातार हेर्ने जस्ता अन्य भाइरल स्टन्ट गरे ।

मूलतः उनी सर्वसाधारणको ध्यान खिच्न विभिन्न च्यालेन्ज लिन्थे र त्यसैलाई पूरा गर्थे । केही समयपछि उनी ठुला नगद पुरस्कार वितरण पनि गर्न थाले । खासगरी अपरिचित व्यक्तिलाई हजारौं रकम दिने, गाडी तथा घर उपहार दिने काम गर्न थाले ।

डिसेम्बर २०१९ मा उनले एउटा च्यालेन्ज आयोजना गरे, जहाँ सहभागीले १० लाख डलर नगदको थुप्रोमा आफ्नो हात राख्नुपर्थ्यो । र अन्तिमसम्म हात नहटाउने व्यक्तिले रकम जितेको थियो ।

उनी आफ्ना भिडिओबाट हुने सबै आम्दानी भिडिओ प्रडक्सनमै खर्च गर्ने भएकाले अझ बढी परिचित छन् । आम्दानीका लागि उनी एड रेभेन्यु र ब्रान्ड पार्टनरशिपबाट उल्लेख्य रकम कमाउँछन् । र आफ्नो ब्रान्ड प्रयोग गरेर मर्चेन्डाइज पनि बेच्न थालेका छन् । 

रिपोर्टहरू अनुसार २०२३ मा उनले प्रति महिना विज्ञापनबाट करिब १४ लाख डलर कमाएका थिए । र उनले आफ्ना स्पोन्सरबाट प्रति भिडिओ १० लाख डलर लिने गरेको रिपोर्टले देखाएका छन् । त्यस्तै उनले मर्चेन्डाइज बिक्रीबाट करिब पाँच करोड डलर कमाएका थिए ।

सन् २०२० मा उनले आधिकारिक रूपमा आफ्नो पहिलो व्यवसाय ‘मिस्टर बिस्ट बर्गर’ नामक डेलिभरी-वन्ली फास्ट फुड ब्रान्ड सुरु गरेका थिए । त्यो नै उनका लागि सबैभन्दा ठुलो आम्दानीको स्रोत बन्यो । २०२२ मा उनले ‘फिस्टिबल्स’ नामक स्न्याक कम्पनी सुरु गरे । उक्त कम्पनीले सुरुवातमा चकलेट निर्माण र बिक्रीलाई प्राथमिकता दियो भने अहिले यसको क्षेत्र थप विस्तार भएको छ ।

२०२४ मा उनी फोर्ब्सको सूचीमा सबैभन्दा बढी कमाउने युट्युबरका रूपमा जोडिएका थिए । 

नेपालको सिन्धुलीस्थित एक अस्पतालको मर्मतसम्भार गरेको भिडिओ राखेपछि मिस्टर बिस्ट नेपालीमाझ अझ लोकप्रिय बनेका थिए । जीर्ण र सुविधाविहीन अवस्थामा रहेको अस्पताललाई सुविधायुक्त अस्पताल बनाउन बिस्टको टिमले सौर्य ऊर्जा प्रणाली जडानसँगै अस्पतालको संरचना, उपकरण र आधारभूत सेवामा सहयोग गर्‍यो । यस सम्बन्धमा उनले एक भिडिओ पनि तयार पारेका छन्, हेर्नुहोस्:

मिस्टर बिस्ट सफल देखिए पनि निकै विवादित पात्र हुन् । उनले समलिङ्गी समुदायप्रति अपमानजनक शब्द र अन्य आपत्तिजनक भाषा प्रयोग गरेका भिडिओ सन् २०२४ मा सतहमा आए । यी सामग्रीले उनको वर्तमान छविलाई धक्का पुर्‍यायो र उनीमाथि गैरजिम्मेवार भएको आरोप लाग्यो । यस विवादबाट उम्किन उनले माफी माग्दै आफू परिपक्व भएको र त्यस्ता विचार अब नबोक्ने स्पष्ट पारेका थिए ।

सन् २०२१ मा मिस्टर बिस्टको कार्यशैली र व्यवस्थापनमाथि पनि प्रश्न उठेको थियो । उनका केही पूर्व कर्मचारीहरूले ‘न्यूयोर्क टाइम्स’ लगायतका सञ्चारमाध्यममा उनीमाथि विषाक्त कार्यस्थल सिर्जना गरेको र अव्यावहारिक माग राखेको आरोप लगाएका थिए ।

पूर्व सम्पादक म्याट टर्नरले मिस्टर बिस्टले आफूलाई अत्यधिक दबाब दिएको र रुवाएको समेत खुलासा गरेका थिए । यी आरोपले उनको परोपकारी छविलाई केही हदसम्म धमिलो बनाएको थियो । 

उनको परोपकारी काम पनि कहिलेकाहीँ विवादको घेरामा परेको छ । खासगरी सन् २०२३ मा आएको ‘हजारौं दृष्टिविहीन व्यक्तिलाई दृष्टि दिने’ भिडिओ विवादित बनेको थियो । उक्त भिडिओमा उनले विश्वभरका एक हजार दृष्टिविहीन व्यक्तिको मोतियाविन्दुको शल्यक्रियाको खर्च व्यहोरेर उनीहरूलाई दृष्टि प्रदान गरेका थिए ।

धेरैले यस कामको प्रशंसा गरे पनि केही आलोचकले यसलाई ‘गरिबी अश्लीलता’ (poverty porn) को संज्ञा दिँदै मिस्टर बिस्टले मानिसको दुःख र कमजोरीलाई आफ्नो भ्युज र लोकप्रियता बढाउन प्रयोग गरेको आरोप लगाए । उनीहरूले यस्ता कामले स्वास्थ्य सेवा प्रणालीको गम्भीर असफलतालाई ओझेलमा पार्ने तर्क पनि गरे ।

मिस्टर बिस्टले भने आलोचनाको वास्ता नगरी यस्ता परोपकारी काम जारी राख्ने र आफ्नो उद्देश्य केवल मानिसहरूलाई सहयोग गर्नु रहेको स्पष्ट पारे । पछि उनले ‘हजारौं बहिरा व्यक्तिहरूलाई श्रवणशक्ति दिने’ भिडिओ पनि बनाए । जसमा पनि यस्तै मिश्रित प्रतिक्रिया आएका थिए ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २१:५८