काठमाडौं । युट्युबमा सबैभन्दा बढी सब्सक्राइबर भएका मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले आफ्नो निधनपछि पनि च्यानलमा लगातार भिडिओ अपलोड हुने खुलासा गरेका छन् ।
केएसआई र लोगन पलको इम्पल्सिभ पडकास्टमा बोल्दै उनले निधनपछि अपलोड गर्न पहिल्यै १५ ओटा भिडिओ तयार भइसकेको खुलाएका हुन् ।
कुराकानी दौरान केएसआईले अर्का चर्चित युट्युबर निकोकाडो अवोकाडो (निकोल पेरी)को नाम लिँदै ‘तपाईँले पनि त्यस्तै गर्नुहुन्छ कि जस्तो लाग्छ’ भनेर जिज्ञासा राखेका थिए । लगत्तै मिस्टर बिस्टले आफ्नो निधनपछि १५ ओटा भिडिओ अपलोड गर्न टिमले काम गरिसकेको सुनाए ।
यसअघि गुपचुप तरिकाले तौल घटाइरहँदा निकोकाडो अवोकाडोले पुरानै भिडिओहरू राखी दुई वर्षसम्म इन्टरनेटमा प्र्याङ्क गरेका थिए ।
मिस्टर बिस्टका अनुसार उनको निधनपछि अपलोड हुने भिडिओ पुरानो कम्प्युटरमा सुरक्षित छन् । यसबारे उनीसहित कम्पनीका केही व्यक्तिहरूलाई मात्र थाहा छ । यद्यपि ती भिडिओहरू आजकलको जस्तो स्तरीय नहुने उनले बताएका छन् ।
“केही भिडिओहरू खासै राम्रा छैनन् । एउटा भिडिओमा त म टेबलमा बसेर पुरानो फ्यान मेल (प्रशंसकले पठाएका पत्र) खोलिरहेको छु,” उनले भनेका छन् ।
त्यस्तै ‘मेरो अन्तिम भिडिओ’ शीर्षकमा समेत एउटा भिडिओ अपलोड हुने उनले खुलाएका छन् । ती सबै भिडिओहरू हरेक महिना एकएक गरेर अपलोड हुने उनले सुनाएका छन् । दर्शकलाई अझै पनि आफू जीवित भएको भान पार्न बिस्टले यस्तो तरिका अपनाएका हुन् ।