close

विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण देखाउन देशभरका स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्राचार

टेकपाना टेकपाना

जेठ २२, २०८१ १४:३७

विश्वकप क्रिकेट खेलको प्रत्यक्ष प्रसारण देखाउन देशभरका स्थानीय तहलाई खेलकुद मन्त्रालयको पत्राचार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अमेरिका र वेस्टइण्डिजमा सुरु भएकाे आईसीसी मेन्स टी-२० वर्ल्ड कप प्रतियोगितामा नेपाली राष्ट्रिय टोली सम्मिलित खेलको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । नेपाली खेलप्रेमीको हौसला बढाउने वातावरण बनाउन भन्दै मन्त्रालयले आइतवार सबै स्थानीय तहलाई पत्राचार गरेको हो । 

पत्रमार्फत मन्त्रालयले उपलब्ध स्रोत र साधन प्रयोग गरी उपयुक्त स्थानमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेल प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । नेपाली टोली १० वर्षपछि टी-२० वर्ल्ड कपमा सहभागी हुँदै छ । समूह ‘डी’ मा रहेकाे नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअन्तर्गत अमेरिकाको ड्यालसमा आज नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ । यसपछि ११ जुनमा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेल १४ जुनमा दक्षिण अफ्रिकासँग र १६ जुनमा बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । 

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल खेल २९ जुनमा हुनेछ ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १४:४१