close

बालेनका ‘साइबर ग्याङ’ले हामीलाई लखेट्न खोज्लान्, तर एमाले डराउँदैन: भट्टराई

टेकपाना टेकपाना

जेठ २२, २०८१ १५:७

बालेनका ‘साइबर ग्याङ’ले हामीलाई लखेट्न खोज्लान्, तर एमाले डराउँदैन: भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले आफूहरू काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का ‘साइबर ग्याङ’सँग नडराउने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा बालेनको पक्षमा वकालत गर्ने प्रयोगकर्तालाई साइबर ग्याङको संज्ञा दिँदै भट्टराईले यस्तो प्रवृत्तिबाट एमाले नडराउने भनाइ राखे ।

“होला आज मैले यो बोलिरहँदा बालेनजीका साइबर ग्याङले हामीलाई लखेट्न खोज्लान्,” मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले भने, “तर, त्यसबाट हामी डराउनुपर्ने छैन । साइबर ग्याङले राजनीतिलाई थाम्न सक्दैन । त्यो क्षणिक हुन्छ,” उनले भने ।

उनले अगाडि भने, “त्यो एउटा उत्तेजनामा हुन्छ । त्यो मनोरञ्जनको कुरा होला । तर राजनीतिलाई दिगो बनाउन साइबर ग्याङबाट टिक्न सकिंदैन । त्यो कुरा दुनियाँका धेरै राजनीतिक उदाहरणबाट हामीले देखेका छौं ।” 

बालेनले हालै सामाजिक सञ्जालमार्फत एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै जेल जान तयार हुन चेतावनी दिएका थिए । यसपछि सञ्जालभर विभिन्न बहस र टिकाटिप्पणी भइरहँदा एमाले नेता भट्टराईले संसदमा बोल्दै बालेन अराजक बन्दै गएको धारणा राखेका हुन् ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा बालेन र एमाले अध्यक्ष ओलीको विवादलाई लिएर विभिन्न टीकाटिप्पणी तथा मिमहरू बनिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १५:७