काठमाडौं । हुन्डी, सुन तस्करी, क्रिप्टो लगायत कारोबारमा संलग्न भएको आशंकामा भुक्तानी सेवाप्रदायक कम्पनीहरू पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजमाथि नियामक नेपाल राष्ट्र बैंकले छानबिन थालेको छ । नेपालमा गैरकानुनी मानिएका यी कारोबारमा संलग्न भएको सूचनापछि राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अनुसन्धान थालेको हो ।
यी कम्पनीहरुलाई नियामकीय अनुपालना सम्बन्धी छानविनका लागि अस्थायी कारबाही गरिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भगवत आचार्यले जानकारी दिए । अहिले राष्ट्र बैंकले यी दुवै संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू रोक्का गरेको उनले जनाए ।
“यस बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवाप्रदायक संस्थाहरू पेवेल नेपाल प्रालि, अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि, बालुवाटार, काठमाडौंबाट भइरहेका कारोवारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यदि अनुसन्धानका क्रममा दोषी भेटिए यी भुक्तानी सेवाप्रदायकको इजाजतपत्र खारेज समेत हुनसक्ने आचार्यले बताए ।
भुक्तानी सेवाप्रदायकहरू हुन्डी, सुन तस्करी, क्रिप्टो लगायतका गैरकानुनी कारोबारमा संलग्न भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरेको बुझिएको छ ।