रकेटदेखि मस्तिष्कमा लगाउने चिपसम्म: यस्तो छ ट्रिलियनेयर मस्कको विशाल व्यापारिक साम्राज्य
जेठ ३१, २०८३ १४:५४
काठमाडाैं । विश्वकै सबैभन्दा धनी व्यक्ति तथा पहिलो ट्रिलियनेयर (१० खर्ब डलर सम्पत्तिका मालिक) एलन मस्कले विभिन्न क्षेत्रका व्यवसायहरूको स्वामित्व र नियन्त्रण लिएका छन् । विद्युतीय सवारीसाधन, मस्तिष्कमा जडान गरिने इम्प्लान्ट, भूमिगत सुरुङ निर्माण, कुनै समय ट्विटर नामले चिनिने सामाजिक सञ्जाल प्लेटफर्म र शुक्रबारदेखि वाल स्ट्रिटमा कारोबार सुरु गरेको रकेट निर्माण कम्पनी, यी सबै एलन मस्कको व्यापारिक साम्राज्यका हिस्सा हुन् ।
समयसँगै यीमध्ये धेरै व्यवसायहरू एउटै छातामुनि आउँदै गएका छन् । सन् २०२६ को सुरुवातमै मस्कले शुक्रबार सार्वजनिक रूपमा सूचीकृत भएको स्पेसएक्स र आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘एक्सएआई’ लाई एकआपसमा गाभेका (मर्ज गरेका) थिए । मस्क अहिले विभिन्न कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा छन् भने केहीमा अन्य कार्यकारी जिम्मेवारी वा स्वामित्व समेत लिएका छन् । यस्तो छ एलन मस्कको विशाल व्यापारिक साम्राज्यः
स्पेसएक्स
मस्क स्पेसएक्सका सीईओ हुन् । उनले यो कम्पनीको स्थापना सन् २००२ मा गरेका थिए । यो कम्पनी रकेट निर्माणभन्दा धेरै अघि बढिसकेको छ । स्पेसएक्सको स्वामित्वमा भूउपग्रह सञ्चार सेवा ‘स्टारलिंक’ पनि रहेको छ । यो कम्पनी स्पेसएक्सका लागि नगद आम्दानीको ठुलो स्रोत बनेको छ । स्टारलिंकले गत वर्ष ४.४ अर्ब डलर सञ्चालन नाफा आर्जन गरेको थियो । स्पेसएक्स अन्तर्गत नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) पनि रहेको छ । मस्कले यसलाई सन् २०२२ मा ४४ अर्ब डलरमा किनेका थिए र ‘ग्रोक’ च्याटबट निर्माता कम्पनी एक्सएआई अन्तर्गत राखेका थिए ।
एक्सएआई र एक्स दुवै घाटामा चलिरहेका व्यवसाय हुन् । मस्कको एआई व्यवसायले गत वर्ष मात्रै ६.४ अर्ब डलर सञ्चालन घाटा व्यहोरेको थियो । जसका कारण गत वर्ष स्पेसएक्सले समग्रमा २.६ अर्ब डलर सञ्चालन घाटा व्यहोरेको थियो । घाटामै रहेपनि बजारमा ठुलो चर्चा बटुल्न सफल हुँदा स्पेसएक्स गत शुक्रबार इतिहासकै सबैभन्दा ठुलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत शेयर बजारमा प्रवेश गरेको छ । गत शुक्रबार कारोबार बन्द हुँदा यसको प्रतिशेयर मूल्य १६१ डलर नजिक पुगेको थियो । जसले गर्दा कम्पनीको कुल बजार पुँजीकरण २.१ ट्रिलियन डलर पुगेको छ ।
कतिपयले कम्पनीको मूल्याङ्कन वास्तविक मूल्यभन्दा निकै बढी भएको पनि बताएका छन् । तैपनि, स्पेसएक्सले आफू एआई क्षेत्रको अग्रणी कम्पनी बन्ने र कुनै दिन मानवलाई एक ग्रहबाट अर्को ग्रहसम्म पुग्न सक्ने बनाउन मद्दत गर्ने वाचा गरेको छ । स्पेसएक्सले अन्तरिक्षमा डेटा सेन्टरहरू स्थापना गर्नेदेखि लिएर मङ्गल ग्रहमा मानव बस्ती बसाउनेसम्मका महत्त्वाकाङ्क्षी र कतिपय अवस्थामा ‘साइन्स फिक्सन’ जस्ता लाग्ने लक्ष्यहरू राखेको छ ।
टेस्ला
एलन मस्कले विद्युतीय कार निर्माता कम्पनी टेस्लामा पनि सन् २००८ देखि सीईओ पद सम्हाल्दै आएका छन् । यद्यपि, विद्युतीय सवारीसाधन (ईभी) को क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण टेस्लाले अहिले निकै संघर्ष गर्नु परिरहेको छ । गत वर्ष, यस कम्पनीलाई विश्वकै सबैभन्दा ठुलो ईभी निर्माताको रूपमा चीनको बीवाइडीले पछि पारेको थियो । मस्कको राजनीतिक विचार र गतिविधिका कारण भएका बहिष्कारहरूले गर्दा पनि कम्पनीको बिक्रीमा असर परेको थियो ।
पछिल्लो समय कम्पनीको कार बिक्रीमा केही सुधार देखिएको छ । तर मस्कले टेस्लाको भविष्य कार बिक्रीमा भन्दा पनि मानिसहरूलाई स्वचालित ट्याक्सीमा यात्रा गराउनुमा रहेको कुरामा जोड दिइरहेका छन् । टेस्लाले घर र व्यवसायहरूका लागि रोबोटहरूको उत्पादनलाई पनि बढाउँदै लगेको छ । साथै, मस्क र उनका दुईजना दाजुभाइले स्थापना गरेको ‘सोलारसिटी’ लाई खरिद गरेर टेस्ला विगत एक दशकदेखि सौर्य ऊर्जा व्यवसायमा पनि आबद्ध रहेको छ । टेस्ला सन् २०१० मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । हाल यसको शेयर बजार पुँजीकरण करिब १५ खर्ब डलर रहेको छ ।
न्युरालिंक
मस्क ‘ब्रेन कम्प्युटर इन्टरफेस’ (मानिसको मस्तिष्कलाई कम्युटरसँग जोड्ने) कम्पनी न्युरालिंकका पनि सीईओ हुन् । यो कम्पनीलाई मस्कले ८ जना वैज्ञानिक र इन्जिनियरहरूसँग मिलेर सन् २०१६ मा सह-स्थापना गरेका थिए । न्युरालिंक मानव स्नायु प्रणालीलाई मसिनसँग जोड्ने काम गरिरहेका धेरै समूहहरूमध्ये एक हो । यसले मेरुदण्डमा चोट लागेका, एएलएस (Amyotrophic Lateral Sclerosis) र अन्य स्वास्थ्य समस्या भएका मानिसहरूका लागि क्लिनिकल ट्रायल (क्लिनिकल परीक्षण) सुरु गरेको छ । न्युरालिंक र कतिपय अवस्थामा मस्क आफैँले पनि हालैका वर्षहरूमा केही ब्रेन इम्प्लान्टहरू (मस्तिष्कमा उपकरण प्रत्यारोपण गर्ने कार्य) को घोषणा गरेका छन् । गत जनवरीमा, न्युरालिंकले विश्वभर आफ्ना २१ जना परीक्षण सहभागीहरू रहेको बताएको थियो ।
द बोरिङ कम्पनी
मस्कले एक दशकअघि नै सुरुङ खन्ने र भूमिगत यातायात व्यवसायको रूपमा रहेको ‘द बोरिङ कम्पनी’ को पनि स्थापना गरेका हुन् । द बोरिङ कम्पनी अमेरिकामा ‘भेगास लुप’ जस्ता परियोजनाहरूमा सामेल रहेको छ । भेगास लुप भूमिगत र टेस्ला कार चल्ने सुरुङहरूको एउटा नेटवर्क हो र यो पहिलोपटक सन् २०२१ मा लस भेगास कन्भेन्सन सेन्टर वरपर सुरु भएको थियो । यो कम्पनीले तीव्र गतिको यातायात नेटवर्क प्रदान गर्ने वाचा गरेको छ । कम्पनीले दुबई र न्यासभिलमा पनि सुरुङहरू बनाउने योजनाहरू बनाएको छ । याे कम्पनीको बजार मूल्य करिब ७ अर्ब डलर रहेको अनुमान गरिएकाे छ ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १४:५४
