close

के हो अहिले बजारमा निकै चर्चामा रहेको now.gg ?

टेकपाना टेकपाना

जेठ ३१, २०८१ १८:४६

के हो अहिले बजारमा निकै चर्चामा रहेको now.gg ?

 काठमाडौं । के तपाईंले हालै now.gg को बारेमा केही सुन्नु भएको थियो ? यो अहिले मोबाइल गेमरहरूबीच चर्चाको विषय बनेको छ, जुन एकदमै गज्जबको सेवा हो । यहाँ हामी तपाईंलाई नाव डट जीजी (now.gg) के हो भन्ने बारेमा बताउँदै छौं । 

छोटकरीमा भन्नुपर्दा now.gg एउटा क्लाउड गेमिङ सेवा हो, जुन ब्राउजरको सहयोगमा कुने पनि डिभाइसबाट चलाउन सकिन्छ । सम्पूर्ण रूपमा निःशुल्क यो प्लेटफर्म यसमा रहेका कयौं फिचर, प्रयोग गर्ने सहजता र थुप्रै गेमको सङ्ग्रह आदिका कारण लोकप्रिय बनिरहेको छ ।  

के हो now.gg ? 

तत्कालको लोकप्रियताका बाबजुद now.gg के हो भन्ने बारेमा अझै थुप्रै कुरा रहस्यमै छन् । सामान्य अर्थमा भन्नुपर्दा नाव डट जीजी एउटा क्लाउड गेमिङ प्लेटफर्म हो । आफ्नो मोबाइल, कम्प्युटर वा ट्याब्लेटमा यसलाई इन्स्टल नगरिकनै तपाईं क्लाउडमा गेम खेल्न सक्नु हुन्छ । 

यसले तपाईंलाई आफ्नो स्टोरेजको स्थान खर्च नगरिकनै गेम खेल्ने विकल्प ल्याएको छ । मोबाइल गेममा केन्द्रित भएकाले यसको सेवा पनि विशेष प्रकारको लाग्छ । नाव डट जीजीलाई खडा गर्ने अर्को मुख्य आधार के हो भने यसका लागि कुनै एप नै चाहिंदैन । 

तपाईंले ब्राउजरबाटै now.gg को वेबसाइटमा पहुँच बनाएर सोझै गेम खेल्न सक्नु हुन्छ । यसको अर्थ तपाईं कम्प्युटर, ट्याब्लेट, स्मार्टफोन र एक्सबक्स जस्ता गेमिङ कन्सोलसहित ब्राउजर भएको लगभग कुनै पनि डिभाइसबाट यसलाई प्रयोग गर्न सक्नु हुन्छ । किन कि यो क्लाउड गेमिङ सेवा हो । 

यसको एउटै मात्र सीमितता के मात्रै हो भने तपाईंलाई यसका लागि इन्टरनेट चाहिन्छ । नाव डट जीजीका लागि तुलनात्मक रूपमा चुस्त किसिमको इन्टरनेट कनेक्सन चाहिन्छ । यसका लागि कम्तिमा पाँच एमबीपीएस गतिको र ४० एमएसभन्दा कम पिङ भएको इन्टरनेट आवश्यक पर्छ । 

नाव डट जीजीका फिचर

यसमा गेमेरहरूले खोजिरहेका कयौं फिचरहरू समावेश छन् । यसले सम्भव भएसम्म धेरैभन्दा धेरै फिचर समावेश गर्ने उद्देश्य राखेको छ र नतिजा पनि राम्रो पाइरहेको छ । यसका मुख्य फिचरहरू निम्न अनुसार छन्; 

  • किबोर्ड र टचस्क्रिन सपोर्टः मुख्यतः मोबाइल गेम समावेश भएकाले यसमा टच कन्ट्रोल उपलब्ध छ । यदि तपाईं चाहनु हुन्छ भने किबोर्डको सहायताले पनि यसमा गेम खेल्न सक्नु हुन्छ । 

  • गेमप्याड सपोर्टः नाव डट जीजीमा तपाईंले गेमिङ कन्ट्रोल समेत प्रयोग गर्न सक्नु हुन्छ । कम्पनीका अनुसार यसमा तपाईंले कुनै पनि गेमप्याड  प्रयोग गर्न सक्नु हुन्छ, यद्यपि केहीको भने निश्चित गर्न बाँकी छ । जसमा एक्सबक्स वन, प्लेस्टेसन ४, लजिटेक र रेडगियर कन्ट्रोलर समावेश छन् । निश्चित रूपमा यसका लागि गेमले भने कन्ट्रोलरलाई सपोर्ट गर्नैपर्ने हुन्छ । 

  • बिल्टइन एआईः नाव डट जीजीमा अना (Ana) नाम गरेको बिल्टइन एआई असिस्टेन्ट पनि छ । यो सेवालाई लिएर कुनै दुविधा उत्पन्न भएमा जसले तपाईंलाई सघाउँछ । त्यसका लागि केवल प्रश्न सोधे पुग्छ । 

  • मल्टी-प्लेयर सपोर्टः यदि दिइएको गेमले मल्टी प्लेयरलाई सपोर्ट गर्छ भने तपाईं कुनै अर्को प्लेटफर्ममा भए पनि साथीसँग मिलेर अनलाइन गेम खेल्न सक्नु हुन्छ । 

  • प्रोग्रेस सेभ हुनेः नाव डट जीजी अकाउन्ट तयार पार्नेहरूले गेमको प्रोग्रेस सेभ गर्ने सुविधा पनि पाउँछन् । यसको अर्थ तपाईंले जहाँ छोड्नु भएको थियो, त्यहिंबाट पुनः गेम सुरु गर्न सक्नु हुन्छ ।

  • सोसल फिचर र शेयरिङः एक पटक तपाईंसँग नाव डट जीजीको अकाउन्ट भइसकेपछि त्यसले तपाईंलाई मज्जाको रमाइलोपन प्रदान गर्नेछ । यसबाट तपाईंले ट्रफी र उपलब्धिहरू सङ्कलन गर्न सक्नु हुन्छ । यसमा गेमिङ स्टाटिस्टिकसँगै आन्तरिक र्‍याङ्किङ फिचर समेत छ । जसमार्फत तपाईंले आफ्नो अनुभव र लाइभ स्ट्रिमिङ सपोर्ट पनि पाउन सक्नु हुन्छ । 

  • मोड प्रयोग गर्न सकिनेः तपाईंले मोड सपोर्ट गर्ने गेमहरूका लागि यसबाट मोड तयार पार्न र शेयर गर्न सक्नु हुन्छ । 

  • गेम साइडलोडः तपाईं नाव डट जीजीमा रहेको गेम लाइब्रेरीमा खुम्चिनु पनि पर्दैन । अहिले बेटा भर्सनमै रहेको फिचरले नाव डट जीजीमा 'सिक्रेट फोन' प्रयोग गरी गेमहरू साइड लोड गर्ने विकल्प समेत दिन्छ । यो भर्चुअल डिभाइसका लागि केवल तपाईंले इन्स्टल गर्न चाहेको एन्ड्रोइड एपको एपीके फाइल भए पुग्छ । 

कति छ नाव डट जीजीको शुल्क ? 

अहिलेलाई नाव डट जीजी पूर्णतः निःशुल्क छ । यतिसम्म कि यसमा भुक्तानी गर्नका लागि कुनै विकल्प नै छैन । जसले गर्दा भविष्यमा यसमा कुनै परिवर्तन आउन सक्ने सम्भावनालाई भने नकार्न सकिन्न । 

के नाव डट जीजी सुरक्षित छ ? 

नाव डट जीजी तपाईंले सोझै आफ्नो डिभाइसमा गेम खेल्नेभन्दा सुरक्षित छ । किन कि क्लाउडमा चल्ने गेमले नाव डट जीजीका सर्भर प्रयोग गर्छ । सामान्य अर्थमा भन्नु पर्दा यो भिडिओ चलाए जस्तै हो, त्यसैले गेमले तपाईंको डिभाइसमा रहेका  लोकल फाइलमा पहुँच पाउँदैनन् र तपाईंको डिभाइसमा कुनै मलिसियस अर्थात् दुर्भावना युक्त सफ्टवेयर इन्स्टल गर्न पनि सक्दैन । 

यतिसम्म कि यदि तपाईं कुनै दुर्भावना युक्त एप साइडलोड गर्दै हुनुहुन्छ भने पनि तपाईंको फोन प्रभावित हुने छैन । यसमा चिन्ता लिनुपर्ने एउटै कुरा तपाईं फिशिङको प्रयासबाट भने जोगिनु पर्ने हुन्छ । त्यसैले आफ्नो कुनै व्यक्तिगत जानकारी, पासवर्ड र आफ्ना अकाउन्टको लगइन डिटेल दिने सवालमा भने सावधानी अपनाउन नभुल्नुहोस् । 

किन लोकप्रिय बन्दैछ नाव डट जीजी ? 

नाव डट जीजी लोकप्रिय हुनुका अनेकौं कारण छन् । सुरुवाति तवरमा भन्नुपर्दा यो नितान्त निःशुल्क छ । जब यसलाई प्रयोग गर्न कुनै शुल्क नै तिर्नुपर्दैन, त्यो आफैमा सक्षम सेवा हो भन्ने बुझ्न सकिन्छ ।  रोबोलक्स, फ्रिफायर, पब्जीः मोबाइल, एमङ अस, द सिम्स मोबाइल  लगायत यसमा रहेका गेमहरूको ठुलो सङ्ग्रह निकै उपयोगी छ । यति मात्र होइन, गेम खेल्ने क्रममा तपाईंको फोनले नै सबै काम गर्नु पनि पर्दैन । त्यसैले चुस्त इन्टरनेट कनेक्सन भएका कुनै पनि डिभाइसबाट चाहे त्यो सस्तो फोन नै किन नहोस्, हाइ-इन्ड गेम सहजै खेल्न सकिन्छ ।  यो इन्टरनेट र ब्राउजरमा सञ्चालन हुने भएकाले इन्स्टल गर्दा खर्च हुने आफ्नो डिभाइसको स्टोरेज पनि जोगिन्छ । किन भने डाउनलोड गरिने गेमले तपाईंको डिभाइसमा थुप्रै स्टोरेज खपत गरिरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १८:१