close

'सलमान खानको हत्या गर्न जाँदैछु' भनेर युट्युबमा भिडिओ राख्ने एक व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार ३, २०८१ १९:३०

'सलमान खानको हत्या गर्न जाँदैछु' भनेर युट्युबमा भिडिओ राख्ने एक व्यक्ति पक्राउ

काठमाडौं । 'अरे छोडो यार' नामक युट्युब च्यानलमा विष्णोई ग्याङ्गको बारेमा छलफल चलाउने र अभिनेता सलमान खानको हत्या गर्ने योजना बारे उल्लेख गर्ने एक व्यक्तिलाई मुम्बई साइबर पुलिसले पक्राउ गरेको छ । गत १३ अप्रिलमा विष्णोईको तर्फबाट खानको बन्द्रा निवाशमा दुई जना शुटरले गोली समेत चलाएका थिए ।

आरोपितलाई मुम्बई क्राइम ब्रान्चले पक्राउ गरेको छ, जो राजस्थानको बोरदा गाउँ घर भएका बनवारीलाल लतुरलाल गुजार रहेको बताइएको छ । थप अनुसन्धानका लागि उनलाई मुम्बई लगिनेछ । गुजारले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ अपलोड गरेका थिए, जसमा भनेका थिए, "लरेन्स विष्णोई, गोल्डी बरार र अन्य ग्याङ्ग सदस्य मेरो साथमा छन् । अहिलेसम्म माफी नमागेकाले म सलमान खानको हत्या गर्न जाँदैछु ।"

ती आरोपितले राजस्थानको एक राजमार्गमा उक्त भिडिओ बनाएर आफ्नो च्यानलमा अपलोड गरेका थिए । घटनाको गम्भीरता विचार गरी अनुसन्धानका लागि राजस्थान खटिएको टिमले उनलाई पक्रिएको हो । यस विषयमा मुम्बईको साइबर पुलिस स्टेसनमा एक उजुरी दर्ता भएको थियो ।

"सन्दिग्ध गुजारको यसअघि कुनै आपराधिक पृष्ठभूमि रहेको विषयमा अहिले हामी खोजबिन गर्दैछौं । इन्डियन पेनल कोड अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ," प्रहरी अधिकारीलाई उद्धृत गर्दै पीटीआईले लेखेको छ ।

सलमान खानले सन् १९९८ देखि नै लरेन्स विष्णोई ग्याङ्गबाट धम्कीको सामना गर्दै आएका छन् । त्यतिखेर उनीमाथि जोधापुरमा चलचित्रको शुटिङका दौरान हरिणको शिकार गरेको आरोप लागेको थियो ।

पछिल्लो अध्यावधिक: असार ४, २०८१ ८:३५