close

दूरसञ्चार सेवा प्रदायकहरूको साइबर सेक्युरिटी अडिट गर्न ३ कम्पनी छनोट

टेकपाना टेकपाना

असार ५, २०८१ १६:५९

दूरसञ्चार सेवा प्रदायकहरूको साइबर सेक्युरिटी अडिट गर्न ३ कम्पनी छनोट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि दूरसञ्चार सेवाप्रदायकहरूको साइबर सेक्युरिटी अडिटिङका लागि अडिटरको रोस्टर तयार पारेकाे छ । हालै एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आईएस (सूचना सुरक्षा) अडिटर तथा क्लाउड अडिटरकाे सूची सार्वजनिक गरेकाे हाे ।

यसअन्तर्गत आईएस तथा क्लाउड दुवै अडिटिङका लागि बिज सर्भ आईटी प्रालि, सिनिकल टेक्नोलजी प्रालि र एमिनेन्स वेज प्रालि छनाेट भएका छन् । यी तीनै अडिटर नेपालकै साइबर सुरक्षा कम्पनी हुन् । 

प्राधिकरणले जारी गरेकाे साइबर सुरक्षा विनियमावली २०७७ अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त हरेक सेवाप्रदायकले हरेक आर्थिक वर्ष बाहिरको अर्थात् सरकारले तोकेको आईएस (सूचना सुरक्षा) अडिटर तथा क्लाउड अडिटरबाट अडिट गराउनुपर्ने प्रावधान छ ।

सोही अनुरूप प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीमध्येबाट साइबर सेक्युरिटी अडिटरको रोस्टर सार्वजनिक गरेको हो । 

दूरसञ्चार सेवाप्रदायककाे अडिट गर्न याेग्य नेपाली कम्पनीका लागि विगत तीन वर्षदेखि ३० लाखको वार्षिक कारोबार भएको हुनुपर्ने व्यवस्था छ भने अन्तर्राष्ट्रिय कम्पनीको हकमा ५० लाख डलरको कारोबार भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

त्यतिमात्रै नभएर कम्पनी दर्ता भएको थोरैमा पनि पाँच वर्ष हुनुपर्ने र साइबर सेक्युरिटी, इन्फरमेसन सेक्युरिटी, सेक्युरिटी अडिटमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने छ । इच्छुक कम्पनीले तीन वर्षको अवधिमा पाँच ओटा यस्ता परियोजना सम्पन्न गरेको हुनुपर्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८१ १७:५२