close

टेलिग्राममा ३० जना मात्रै कर्मचारी !

टेकपाना टेकपाना

असार १२, २०८१ १५:४

टेलिग्राममा ३० जना मात्रै कर्मचारी !

काठमाडौं । चर्चित सामाजिक सञ्जाल टेलिग्राममा ३० जना मात्र कर्मचारी रहेको तथ्य बाहिर आएको छ । कम्पनीका संस्थापक पावेल डुरोभले एक अन्तर्वार्ताका क्रममा कम्पनीमा ३० जना मात्र इन्जिनियर रहेको बताएका हुन् । 

दुई महिनाअघि पावेलले सञ्चारकर्मी टस्कर कार्ल्सनलाई अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले टेलिग्रामबारे विभिन्न रहस्य खुलाएका छन् । सामाजिक सञ्जाल एक्समा चर्चा पाइरहेको एउटा क्लिपमा डुरोभले भनेका छन्, “हाम्रो कम्पनीमा उत्कृष्टभन्दा पनि उत्कृष्ट ३० जना इन्जिनियर कार्यरत छन् ।”

उनले कम्पनीमा आफू एक्लो निर्देशक, इक्विटी होल्डर र प्रडक्ट म्यानेजर भएको बताए । अन्तर्वार्ताका क्रममा डुरोभले यस प्लेटफर्ममा एक अर्ब बढी प्रयोगकर्ता जोडिएको खुलाएका छन् । यसमा कहिल्यै विज्ञापन सञ्चालन नगरेको उनको दाबी छ । 

त्यस्तै यसमा मानव संसाधन (ह्युमन रिसोर्स) व्यवस्थापन गर्ने कोही नभएको उनले सुनाए । उनका अनुसार आवश्यक कर्मचारी कन्टेस्ट डटकमबाट लिने गरिन्छ । 

टेलिग्राम क्रिप्टोमा काम गर्ने व्यक्तिहरूका लागि सबैभन्दा लोकप्रिय प्लेटफर्ममध्येको एक हो । त्यसबाहेक यसलाई ह्याकर, स्क्यामर र अफवाह फैलाउनेहरूको अड्डाका रूपमा पनि हेरिन्छ । अपराधको जालोमा यो बढी प्रयोग भइरहेको छ । विशेषगरी प्रयोगकर्ताले आफ्नो जानकारी गोप्य राखेर च्याट गर्न सक्ने भएकाले अनैतिक कार्यका लागि यसको प्रयोग हुने गर्छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८१ १६:४