close

कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

असार १४, २०८१ १३:३८

कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै महानगरले छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीलाई आवेदन माग गरेको हो ।

महानगरले आफू अन्तर्गतका संस्थागत शिक्षण संस्थामा परीक्षा प्रणालीबाट योग्य विद्यार्थी छनौट गरेर छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । उक्त परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने छ ।

इच्छुक विद्यार्थीले १५ असार विहान १०:०० बजेदेखि २९ असार शनिवार राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । परीक्षा भने ४ साउनमा हुने छ ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गर्ने महनगरले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक पढ्न इच्छुक विद्यार्थीले आवेदन दिन सक्नेछन् । 

कसरी भर्ने छात्रवृत्ति परीक्षाका लागि अनलाइन फारम ?

  • सबैभन्दा पहिले यहाँ क्लिक गरी काठमाडौं महानगरको वेबसाइटमा जानुहोस् ।
  • त्यसपछि होजपेजमा रहेको ‘स्टार्ट रजिस्ट्रेसन’को बटनमा क्लिक गर्नुहोस् । 
  • यति गरिसकेपछि छात्रवृत्तिका लागि आवश्यक योग्यताबारे उल्लेख गरिएको पेज खुल्छ । 

महानगरका अनुसार अनलाइन फारम भर्दा तल उल्लेख गरिएका कागजात आवश्यक पर्नेछन् ।

  • अनलाइन फाराम भर्न चाहिने आवश्यक कागजात (स्क्यान/फोटो)
  • एसईई प्रवेश पत्र
  • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
  • नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र
  • एसईई वा सो सरहको मार्कसिट र चारित्रिक प्रमाणपत्र
  • सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको सिफारिस
  • संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीको सिफारिस
  • आरक्षणका लागि आवश्यक प्रमाण कागजात

यति गरिसकेपछि पेजको अन्तिममा रहेको नेक्स्ट (Next)को बटनमा थिच्नुहोस् । यसपछि खुल्ने पेजमा पनि फारम भर्दा कुन विवरण कसरी राख्ने भन्ने जानकारी दिइएको हुन्छ । फारम पठाइसकेपछि सुधार गर्ने व्यवस्था नभएकाले सुरुमै ध्यान दिएर फारम भर्न महानगरले अनुरोध गरेको छ । 

यति भइसकेपछि पुनः अन्तिममा रहेको नेक्स्ट (Next)को बटनमा ट्याप गर्नुहोस् । यसपछि खुल्ने पेजमा पनि फोटो तथा अन्य कागजात कसरी राख्ने भन्ने सिकाइएको छ । त्यहाँ उल्लेख गरे अनुसार फोटोको साइज र तरिका मिलाउनुहोस् । 

महानगरका अनुसार आवेदन दिँदा बुझाउनुपर्ने फोटो जेपीईजी फर्म्याटमा २०० केबीभन्दा कम साइजको हुनुपर्छ । त्यस्तै अन्य कागजात भने ५०० एमबीभन्दा कम पीडीएफ फर्म्याटमा हुनुपर्छ । यति बुझिसकेपछि पुनः नेक्स्टको बटनमा क्लिक गर्नुहोस् । 

अनलाइन आवदेनको पेजमा आइसकेपछि के गर्ने ?

माथि उल्लेख गरिएका सबै प्रक्रिया पूरा गर्दै जानुभयो भने ‘स्कलरशिप एक्जामिनेसन एप्लिकेसन फर्म’ लेखिएको पेज खुल्छ ।  सो पेजमा तपाईंले एसईईको सिम्बोल नम्बर, ग्रेड र जन्ममिति राख्नुपर्ने हुन्छ । 

यति भइसकेपछि अन्तिममा रहेको 'कन्टिन्यु' बटनमा क्लिक गर्नुहोस् । त्यसपछि माग गरिएका कागजात पठाउनुपर्ने हुन्छ । यसरी छात्रवृत्ति परीक्षाका लागि आवेदन दिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १३:५२