close

अख्तियारको छानबिनमा तानिएका पूर्वमन्त्री बस्नेतले भनेः टेरामक्स राजस्व जोगाउने मन्त्र

टेकपाना टेकपाना

असार १४, २०८१ १८:५२

अख्तियारको छानबिनमा तानिएका पूर्वमन्त्री बस्नेतले भनेः टेरामक्स राजस्व जोगाउने मन्त्र

 

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहनबहादुर बस्नेतले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) सकारात्मक प्रयोजनका लागि खरिद गरिएको बताएका छन् । शुक्रबार सङ्घीय संसद्‌को प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले वार्षिक रूपमा हुने अर्बौं रुपैयाँको राजस्व चुहावट रोक्न टेरामक्स सुरु गरेको दाबी गरेका हुन् ।

कल बाइपास गरेर नेपालमा वार्षिक २५ अर्बभन्दा बढी राजस्व घोटाला भइरहेको समयमा आँट गरेर यो विधि आफूले ‍सुरुवात गरेको उनकाे जिकिर छ ।  तर २५ अर्ब घोटाला गर्नेले करोडौं खर्च गरेर सम्बन्धित निकायहरूलाई अलमलमा पारेको उनले आरोप लगाए ।

“टेरामक्स यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा (भीओआईपी प्रकरण) नियन्त्रण गर्छ । संसारभर यही विधिले नियन्त्रण गर्ने गरेको छ । त्यहाँ ठगी खाने धन्दा भएको छैन,” उनले भने, “नेपाल मात्रै एउटा त्यस्तो देश हो, जहाँ कल बाइपास गरेर वार्षिक २५ अर्ब भन्दा बढी राजस्व घोटाला भएको छ ।”

त्‍यस्तै उनले भीओआईपी प्रकरणलाई रोक्ने विधि टेरामक्स नभए अरू कुन विधि हो भनेर प्रश्न समेत उठाए । साथै संसारभर हुने विधि यहाँ किन नहुने भनेर समेत प्रश्न अघि सार्दै उनले राजस्व जोगाउने मन्त्र टेरामक्स भएको दाबी गरे ।

पूर्वमन्त्री बस्नेतले उचित दिन आए सबै प्रश्नको जवाफ दिने समेत बताए ।

टेरामक्स प्रणाली खरिद गर्ने क्रममा भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले सो उपर छानबिन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १९:२१