काठमाडौं । एप्पलले हालै सम्पन्न आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२४ मा ओपनएआई र गुगलसँगको सहकार्य घोषणा गर्ने अनुमान थियो । तर एप्पलले ओपनएआईसँगको सहकार्य मात्र घोषणा गर्यो ।
त्यसअर्थमा एप्पलले आफ्ना डिभाइसमा एआई टुल एकीकृत गर्न गुगलको साटो ओपनएआईलाई रोजेको बुझ्न सकिन्थ्यो । तर अहिले पुन: एप्पलले गुगलसँगको सहकार्य छिट्टै घोषणा गर्ने अनुमान गर्न थालिएको छ ।
ब्लुमवर्गका पत्रकार मार्क गुर्म्यानका अनुसार एप्पलले आफ्ना डिभाइसमा चाँडै गुगल जेमिनाई एकीकृत गरिएको घोषणा गर्ने छ । अन्य प्रतिस्पर्धी कम्पनीहरू एआईको क्षेत्रमा निकै अगाडि हुँदा एप्पल अझैं पछाडि नै रहेको छ ।
त्यसमाथि एप्पलले आफ्नै ‘इन हाउस’ एआई उत्पादन तयार पार्न समेत सकेको छैन । सोही दौडमा सामेल हुन तेस्रो पक्षको भरमा एप्पलले 'एप्पल इन्टेलिजेन्स' घोषणा गरेको थियो ।
'एप्पल इन्टेलिजेन्स' विभिन्न एआई फिचर युक्त एउटा प्याकेज हो, अब त्यसैलाई थप परिष्कृत बनाउन अथवा नयाँ एआई फिचर दिन एप्पलले गुगलको जेमिनाई एकीकृत गर्ने अनुमान छ ।
एप्पलका सफ्टवेयर प्रमुख क्रेग फेडेरिघीले समेत डब्लूडब्लूडीसीमा बोल्दै यसबारे सङ्केत दिएका थिए । उनले स्पष्ट उल्लेख नगरेपनि केही समयपछि गुगलसँग एआई टुलको सन्दर्भमा साझेदारी हुने सङ्केत गरेका थिए ।
गुर्म्यानका अनुसार अन्य कम्पनीसँग सहकार्य गर्नुको कारण एप्पलले एआईबाट नभई प्रत्यक्ष नाफा लिनु हो । किनकी अहिले पनि एप्पल इन्टेलिजेन्स आईफोनका प्रो मोडेलमा बेटा भर्सनको रूपमा मात्र उपलब्ध छ ।
यदि गुगलसँग सहकार्य गरेर नयाँ एआई फिचर थपिए ती सब्सक्रिप्सनमा आधारित सेवा हुने अनुमान गरिएको छ ।