एप्पल सिरिको नाम अब सिरि एआई, यस्ता छन् डेभलपर कन्फ्रेन्ससँगै सार्वजनिक नयाँ फिचर
जेठ २६, २०८३ १०:३
काठमाडौँ । एप्पलले आफ्नो पुरानो भर्चुअल असिस्टेन्टलाई रिब्रान्ड गरेको छ । कम्पनीले सोमबारदेखि सुरु वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (WWDC 2026) मार्फत गुगलको जेमनाई मोडेलसँगको सहकार्यमा सिरिको नयाँ भर्सन ल्याएको हो ।
यससँगै अब नयाँ सिरी च्याटजीपीटीजस्तै कुराकानी गर्न सक्ने भएको हो । यसले प्रयोगकर्ताको स्क्रिनमा भएका कुरा बुझ्न, विभिन्न एपभित्र गएर काम गर्न र तस्बिरहरू चिनेर क्यालेन्डरमा इभेन्ट सेभ गर्न सक्छ । एप्पलले सिरीको लागि एउटा छुट्टै डेडिकेटेड एप पनि ल्याएको छ ।
जसमा पुराना कुराकानीहरूको हिस्ट्री हेर्न सकिन्छ । यो प्रविधि सुरुमा अङ्ग्रेजी भाषामा आउनेछ भने युरोपेली युनियनको डिजिटल मार्केट्स एक्ट र चीनको नियामक कानुनका कारण त्यहाँ तत्काल उपलब्ध हुनेछैन ।
एप्पलले एप्पल इन्टेलिजेन्स मार्फत आफ्ना अपरेटिङ सिस्टमहरू आईओएस २७, आईप्याडओएस २७ र म्याकओएस २७ (जसको नाम Golden Gate राखिएको छ) का हरेक कुनामा एआईलाई जोडेको छ ।
यस्तै सफारी ब्राउजरले अब आफैँ ट्याबहरूलाई विषयअनुसार मिलाउनेछ र वेबसाइटमा सामानको मूल्य घट्दा नोटिफाई मी फिचरमार्फत जानकारी दिनेछ । त्यस्तै, नयाँ पासवर्ड एपले एआई एजेन्टको मद्दतले आफैँ वेबसाइटहरूमा गएर कमजोर पासवर्ड परिवर्तन गरेर सुरक्षित बनाउन मद्दत गर्नेछ ।
यसैगरी फोटोज एपमा स्पेसियल रिफ्रेमिङ (Spatial Reframing) फिचर थपिएको छ । जसले तस्बिर खिचिसकेपछि पनि थ्रिडी एआईको मद्दतले क्यामेराको एङ्गल परिवर्तन गर्न दिन्छ । साथै क्लिन अप र एक्स्टेन्ड टुलले फोटो एडिटिङलाई झनै यथार्थपरक बनाएका छन् । इमेज प्लेग्राउन्डबाट अब यथार्थपरक (Photorealistic) तस्बिरहरू जेनेरेट गर्न सकिनेछ र त्यसमा सिन्थआईडी वाटरमार्क हुनेछ ।
मेसेज र मेलमा एआईले प्रयोगकर्ताको लेख्ने शैली बुझेर आफैँ स्मार्ट रिप्लाई लेख्नेछ । कल कन्टेक्स्ट फिचरले कुनै कम्पनीलाई फोन गर्दा ईमेलबाट रिजर्भेसन नम्बर खोजेर स्क्रिनमा देखाउनेछ । होम एपमा सीसीटिभी क्यामेराका क्लिपहरूलाई एआईमार्फत समराइज गर्ने सुविधा ल्याइएको छ ।
एप्पलको एआईले अन-डिभाइस र प्राइभेट क्लाउड कम्प्युटमार्फत काम गर्नेछ । जसमा प्रयोगकर्ताको डेटा एप्पल वा तेस्रो पक्षले हेर्न पाउनेछैन र प्रशोधनपछि तुरुन्तै नष्ट हुने बताइएको छ । भारी एआई कामहरू भने गुगलको क्लाउडमा रहेको एनभिडियाको चिप्समा चल्नेछन् ।
एप्पलले बालबालिकाको सुरक्षाका लागि आस्क टु ब्राउज फिचर ल्याएको छ । जसमा बच्चाहरूले नयाँ वेबसाइट खोल्नुअघि सफारीमा अभिभावकको अनुमति लिनुपर्नेछ । मेसेज र फेसटाइममा हिंसात्मक र रक्तपातपूर्ण तस्बिरहरू आफैँ ब्लर हुने नयाँ फिचर थपिएको छ ।
१३ वर्षभन्दा मुनिका बालबालिकाको लागि चाइल्ड अकाउन्ट अनिवार्य गरिएको छ । स्वास्थ्यतर्फ, हेल्थ एपले ४० वर्षभन्दा माथिका महिलाहरूका लागि महिनावारी सुक्ने लक्षणहरू ट्र्याक गरेर अलर्ट दिने सुविधा ल्याएको छ ।
डिजाइन, पर्फर्मेन्स र अन्य अपडेट
गत वर्ष ल्याइएको ट्रान्सपरेन्ट (पारदर्शी) इन्टरफेसमा सुधार गर्दै एप्पलले अब स्लाइडर थपेको छ । जसलाई प्रयोगकर्ताले क्लियरदेखि पुरै टिन्टेड बनाउन सक्नेछन् ।
डिभाइसको सर्च इन्डेक्स (Spotlight, Mail, Photos को लागि) लाई रिबिल्ट गरी तत्काल सर्च रिजल्ट दिने बनाइएको छ । सीपीयू शेड्युलर (CPU scheduler) मा सुधार गरिएकाले पुरानो आईफोन ११ मा पनि यो नयाँ आईओएस २७ ले छिटो काम गर्नेछ ।
एयरपड्स प्रयोगकर्ताहरूले लामो समयदेखि माग गर्दै आएको कस्टम इक्यू (Custom EQ) सेटिङ बल्ल ल्याइएको छ । वाचओएस २७ ले पुराना मोडेलहरूलाई सपोर्ट गर्दैन । यो केवल एसई ३, सिरिज १०, सिरिज ११, अल्ट्रा २ र अल्ट्रा ३ मा मात्र चल्नेछ । यद्यपि सिरिज ९ मा पनि बेटा भर्सन सपोर्ट गर्ने रिपोर्ट समेत आइरहेका छन् ।
एप्पलका सीईओ टिम कुकले आफ्नो १५ वर्षे कार्यकालको अन्तिम वर्डवाइड डेभलपर कन्फ्रेन्समा किनोट स्पिच दिए । आउँदो १ सेप्टेम्बर, २०२६ देखि एप्पलको सीईओको जिम्मेवारी हार्डवेयर इन्जिनियरिङका सिनियर भाइस प्रेसिडेन्ट जोन टर्नसले सम्हाल्ने छन् ।
कुकले डेभलपरहरूलाई उनीहरूको योगदानका लागि धन्यवाद दिँदै मञ्चबाट भावुक बिदाइ लिए । टर्नस किनोटमा नदेखिए पनि मिडिया ब्रिफिङ र डिनरमा उपस्थित भएर आफ्नो नयाँ भूमिकाको सङ्केत दिएका थिए ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १०:३
