काठमाडौं । आफू अनुकूल व्यक्तिलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति दिलाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रयास असफल भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बाहिरिए पछि अल्पमतमा परेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टेलिकम प्रमुख नियुक्तिबाट पछि हटेको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब नयाँ सरकारले नै नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया अगाडि बढाउने कुराको पुष्टि गरे । "प्राप्त आवेदकहरूको अन्तर्वार्ता र प्रस्तुतिकरण सकेर सम्भवतः सचिव ज्युको नेतृत्वको सिफारिस समितिले शर्ट लिस्ट पनि तयार पारिसकेको हुनुपर्छ," टेकपानासँगको कुराकानीमा उनले भने, "तर, अब यो नियुक्तिको प्रक्रिया जहाँकोतहिँ रोकिएको छ"
शर्टलिस्टमा कोको उम्मेद्वार रहेका छन् भन्ने विषयको बारेमा भने आफूलाई पनि थाहा नभएको उनले बताए । निमित्त मुख्य सचिव लिलादेवी गडतौलाले अल्पमतमा परेको सरकारको मन्त्रिपरिषद्ले गरेका निर्णय प्रमाणित गर्न नचाहेको बताइन्छ ।
एमाले र नेपाली काँग्रेसबिच नयाँ सरकार गठन गर्ने समझदारी भइसकेको छ । तर नयाँ गठबन्धन बनेकै दिन मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदका लागि आवेदन दिएकाहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सूचना प्रकाशित गरेको थियो । सोही अनुरूप गएको शनिबार नै सबै उम्मेद्वारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरण सम्पन्न भइसकेको छ ।
मन्त्रालयले मन्त्रालयले २२ जेठमा दरखास्त आह्वान गरेकोमा १७ जनाले आवेदन दिएका थिए । अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्ड तत्काल राजीनामा नदिने र संसद्बाट विश्वासको मत लिने दिशामा अगाडि बढेका छन् । आउँदो शुक्रबार उनले सङ्घीय संसद्बाट विश्वासको मत लिंदै छन् ।
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त छ । हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी (अर्याल) ले सम्हाल्दै आएकी छन् ।
स्मरणीय कुरा के छ भने मन्त्रालयले गएको २२ जेठमा टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । त्यसको पाँच दिन अगाडि मात्र अर्थात् १७ जेठको मन्त्रिपरिषद् बैठकबाट टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१ स्वीकृत गराइएको थियो ।