close

अब साइबर आक्रमणको बढी जोखिम भएका गुगल अकाउन्ट फोनबाटै थप सुरक्षित गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

असार २८, २०८१ १४:१४

अब साइबर आक्रमणको बढी जोखिम भएका गुगल अकाउन्ट फोनबाटै थप सुरक्षित गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । गुगलले अनलाइन आक्रमणको बढी जोखिममा रहेका प्रयोगकर्ताको अकाउन्टलाई थप सुरक्षा दिन साइन अप गर्ने प्रक्रियलाई सरल बनाएको छ । गुगलले त्यस्ता अकाउन्टहरूका लागि एड्भान्स्ड प्रोटेक्सन प्रोग्राम (एपीपी) मा साइन अप गर्न सरल बनाएको हो । 

यससँगै त्यस्ता प्रयोगकर्ताले फोनमा भएको बिल्ट इन बायोमेट्रिक अथेन्टिकेसनमार्फत सिङ्गल पासकी सेटअप गर्न सक्ने छन् । पहिले यही काम गर्न प्रयोगकर्ताले दुई ओटा फिजिकल सेक्युरिटी कि राख्नु पर्ने हुन्थ्यो ।

यद्यपि एड्भान्स प्रोटेक्सन प्रोग्राम सामान्य प्रयोगकर्ताका लागि होइन । विशेष गरी संवेदनशील जानकारी हुने पत्रकार वा राजनीतिक अभियानकर्ता जस्ता व्यक्तिहरू प्रति लक्षित रहेको गुगलको भनाइ छ । 

गुगलले लगइनमा पासवर्डलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ सन् २०२३ मा पासकी ल्याएको थियो । पासकी भनेको पासवर्ड बिना लग इन गर्ने एउटा तरिका हो । यसमा अक्षर, अङ्क वा सङ्केतको साटो प्रयोगकर्ताको बायोमेट्रिक प्रयोग हुने गर्छ । यसले अकाउन्टलाई थप सुरक्षित तुल्याउने विश्वास गरिन्छ ।

 

गुगलको एपीपी कसरी प्रयोग गर्ने ?

 

  • यहाँ क्लिक गरेर गुगलको एड्भान्स्ड प्रोटेक्सन प्रोग्राम (एपीपी) पेजमा जानुहोस् । त्यहाँ माथिल्लो दायाँ भागमा रहेको 'गेट स्टार्टेड'मा क्लिक गर्नुहोस् । 

  • त्यसपछि सेटअप पेजमा पुग्न सक्नुहुन्छ । 

  • यसअघि आफ्नो अकाउन्टमा पासकी सेटअप गर्नु भएको छैन भने सेटअप गर्ने विकल्प आउँछ । यदि पासकी सेटअप गरिसक्नु भएको छ भने तपाईं सोझैं यो प्रोग्राममा लग इन गर्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १४:१५