काठमाडौं । नेपालको चर्चित अनलाइन जब पोर्टल ‘मेरो जब’मा एआई फिचर थपिएको छ । एक दशक पुरानो प्रविधि कम्पनीले मङ्गलबार एआईमा आधारित एप्लिकेसन ट्रयाकिङ सिस्टम (एटीएस) सार्वजनिक गरेको हो । रोजगारदाताको लागि रिक्रुटमेन्ट अर्थात् कर्मचारी भर्ना प्रक्रियालाई सुधार्न तथा व्यवस्थित गर्न यो सिस्टम ल्याइएको कम्पनीले जनाएको छ ।
मेरो जबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले आफ्नो कम्पनी नेपालको रिक्रुटमेन्ट परिदृश्यलाई पुन: परिभाषित गर्नका लागि बनेको बताए । “विकसित एआई प्रविधिको फाइदा उठाएर हामी सबैका लागि रिक्रुटमेन्ट प्रक्रियालाई अझ प्रभावकारी बनाउँदैछौं,” उनले भने ।
मेरो जब एआई विशेषगरी रोजगारदाताको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको सिस्टम हो । जसले समय र मेहनत दुवै बचत गर्ने अपेक्षा लिइएको छ । यसमा एप्लिकेसन सर्टिङ र ए-आईमा आधारित जब डिस्क्रिप्सन जस्ता विशेषता रहेका छन् ।
“मेरो जबको एटीएस एआईलाई योग्यता मापदण्ड र आवेदकहरूको प्रोफाइल बीचको आपसी-सम्बन्ध खोज्दै आन्तरिक डेटामा प्रशिक्षित गराइएको छ । यो विकसित एआई मोडेलले आवेदकहरूको सीप र अनुभवलाई रोजगारीका आवश्यकतासँग कत्तिको मेल खान्छ भनेर विश्लेषण गर्छ,” गिरीले अगाडि भने, “जसले रिक्रुटमेन्ट प्रक्रियालाई छिटोछरितो तुल्याउनुका साथै कर्मचारी भर्ना प्रक्रियालाई थप प्रभावकारी बनाउँछ ।”
एप्लिकेसन सर्टिङ
उम्मेदवार सर्टलिस्ट गर्नु आफैंमा कठिन काम हो । मेरो जब एआईको इनबिल्ट एप्लिकेसन ट्रयाकिङ सिस्टमले आवेदकहरूलाई कामको सान्दर्भिकताको आधारमा वर्गीकरण गरेर सबैभन्दा उपयुक्तदेखि कम उपयुक्तसम्म सूचीबद्ध गरिदिन्छ ।
यो सुविधाले समय बचत गर्छ र रोजगारदाताको लागि उत्कृष्ट प्रतिभा गुमाउने जोखिम पनि कम गर्ने कम्पनीको दाबी छ ।
एआई जेनेरेटेड जब डिस्क्रिप्सन
अब मेरो जबमा एआईको सहायताले कुनै पनि कम्पनीको आवश्यकता अनुसार उचित जब डिस्क्रिप्सन बनाउन सहज हुनेछ । यसले प्रयोगकर्ताको समयको बचत गर्नुका साथै दोहोर्याई रहनुपर्ने कामलाई सजिलो बनाउने तरिका सुझाउँछ ।