close

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

टेकपाना टेकपाना

साउन ७, २०८१ ११:५०

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । शुक्रबार देशका सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भन्ने व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिइएको हो ।

१० असार २०८१ मा प्रकाशित राजपत्रले देशका विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको थियो । तर, पछिल्लो समय देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्‌को अवस्था सिर्जना भएको छ । 

यसले गर्दा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज बनेको छ । प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै २७ असारमा मन्त्रिपरिषदले तत्काललाई यो व्यवस्था स्थगित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । 

सोही बमोजिम मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्ने निर्णय कार्यान्वयन गर्न पत्र प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयलाई तत्काल उक्त सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न परिपत्र गरेको हो । 

१ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

१) झापा 

२) मोरङ

३) सुनसरी

४) उदयपुर

५) सप्तरी

६) सिराहा

७) धनुषा

८) महोत्तरी

९) बारा

१०) पर्सा

११) रौतहट

१२) सर्लाही

१३) रूपन्देही

१४) दाङ

१५) कपिलवस्तु

१६) बाँके

१७) सुर्खेत

१८) बर्दिया

१९) कैलाली

२०) कञ्चनपुर

२१) काठमाडौं

२२) भक्तपुर

२३) ललितपुर 

२४) सिन्धुली 

२५) मकवानपुर

२६) चितवन 

२७) कास्की 

२८) तनहुँ

 

 

पछिल्लो अध्यावधिक: साउन ७, २०८१ ११:५०