close

उत्तरपुस्तिका परीक्षण त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थी सडकमा, तर रिटोटलिङको आवेदन दिने पोहोर भन्दा कम !

टेकपाना टेकपाना

असार १२, २०८३ २३:४३

उत्तरपुस्तिका परीक्षण त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थी सडकमा, तर रिटोटलिङको आवेदन दिने पोहोर भन्दा कम !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । तर, विद्यार्थीको एउटा हिस्सा आन्दोलित भइरहँदा बोर्डमा रिटोटलिङ (पुनर्योग) का लागि आवेदन दिनेहरूको सङ्ख्या भने अघिल्ला वर्षहरूको तुलनामा कम देखिएको छ । ्

बोर्डले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्म ३० हजारभन्दा केही बढी विद्यार्थीले मात्र रिटोटलिङका लागि अनलाइन आवेदन दिएका छन् । जबकि गत वर्ष (२०८२ मा) करिब ३९ हजार र त्यसअघि (२०८१ मा) करिब ४० हजार विद्यार्थीले रिटोटलिङका लागि आवेदन दिएका थिए । 

बोर्डले आवेदन दिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजेसम्म तोकेकोमा विद्यार्थीहरूको चापलाई मध्यनजर गर्दै आजै राति १२ बजेसम्मका लागि समय थप गरेको छ । 

बोर्डका अधिकारीहरूका अनुसार यस पटक ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाले पनि रिटोटलिङका लागि आवेदन दिनेहरूको सङ्ख्या स्वतः कम देखिएको हो । 

यद्यपि, रिजल्ट निकाल्ने हतारोमा बोर्डले कापी जाँचमा चरम लापरवाही गरेको विद्यार्थीहरूको आरोप छ । माइतीघरमा भेला भएका विद्यार्थीहरूले आफूले परीक्षामा राम्रो जबाफ लेखे पनि अपेक्षा अनुसार ग्रेड नआएको गुनासो गरेका छन् । 

आन्दोलनरत विद्यार्थीहरूले रिटोटलिङको चर्को शुल्क र विश्वासनीयतामाथि पनि प्रश्न उठाएका छन् । प्रति विषय एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने र रिटोटलिङमा केवल अङ्क मात्र जोडिने, तर उत्तरपुस्तिकाको पुनः परीक्षण नहुने भएकाले धेरै विद्यार्थीले आवेदन दिनुको साटो सडक रोजेका हुन् । 

कक्षा १२ को नतिजा करिब ४० दिनभित्रै सार्वजनिक भएपछि विद्यार्थीहरूले हतारमा उत्तरपुस्तिका जाँचिएको र आफूले सोचेभन्दा निकै कम ग्रेड पाएको भन्दै माइतीघर मण्डल लगायतमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले निःशुल्क रिटोटलिङ र पूर्ण पुनः परीक्षणको माग गरेका छन् । 

विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले छानबिन समिति गठन गरेका छन् । मन्त्री पोखरेलको निर्देशनमा नतिजा प्रक्रियाको प्राविधिक पक्ष, डेटा इन्ट्री र उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्न शिक्षा मन्त्रालयका उपसचिवको नेतृत्वमा कार्यदल गठन भएको छ । 

समितिले नतिजा प्रकाशनमा कतै लापरवाही वा प्राविधिक त्रुटि भए/नभएको अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

मन्त्री पोखरेलले नतिजा छिटो निकाल्न हतार नगरिएको बरु प्रक्रिया सुधारिएको दाबी गरे पनि आन्दोलनरत विद्यार्थीहरू भने अझै आश्वस्त हुन सकेका छैनन् । बोर्डले भने प्राविधिक रूपमा नतिजा सही रहेको र चित्त नबुझ्ने विद्यार्थीलाई कानुनी प्रक्रिया अनुसार रिटोटलिङमा आउन आग्रह गरिरहेको छ । 

पछिल्लो अध्यावधिक: असार १२, २०८३ ०:२