काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले आफ्नो माग सम्बोधन नभएको भन्दै बुधवारदेखि चरणबद्ध आन्दोलन थालेका छन् । प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले संस्थागत, संरचनागत, र व्यवस्थापकीय सुधारका लागि विभिन्न समयमा पेश गरेका मागहरू सुनुवाइ नभएको भन्दै यो आन्दोलन थालेका हुन् ।
बुधवार कर्मचारीहरूले कार्यस्थलमा कालो ब्यानर तथा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरे । यसअघि कर्मचारीहरूले १० दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए । यो अवधिमा व्यवस्थापन पक्षले कुनै पनि पहल नगरेपछि आन्दोलन गर्न बाध्य भएको कर्मचारी युनियनले जनाएको छ ।
यस आन्दोलनको पहिलो चरणमा चार दिनसम्म कालो ब्यानर तथा कालो पट्टी बाँधेर विरोध जनाइने युनियनका अध्यक्ष शिवराज जैसीले बताए । अब पनि सुनुवाइ नभए पेन डाउन गर्ने, डिजिटल सिग्नेचर व्यवस्थापन समक्ष बुझाई प्राधिकरणको कार्य सम्पूर्ण रूपमा ठप्प पारी कार्यालयको प्रमुखका कार्यकक्षामा धर्ना दिने तथा कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध गर्नेसम्मका कार्यकम राखिएको उनले जानकारी दिए ।
कर्मचारीहरूले प्राधिकरण व्यवस्थापनसमक्ष चार बुँदे माग राखेका छन् । पहिलो र महत्त्वपूर्ण माग कार्यकक्षको प्रतिकूल वातावरणसँग सम्बन्धित छ । यसअघि कमलादीमा रहेको कार्यालय तीन वर्षअघि राष्ट्रिय नाचघर जमलमा सारिएको थियो ।
नाचघरको भुइँतला र पार्किङमा अक्सिजनको कमी र कार्बनडाइअक्साइड धेरै हुँदा कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा जोखिम भएकाले त्यतिबेला देखि नै समस्या समाधान गर्न आवाज उठाएका थिए ।
प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्यूनतम मापदण्ड समेत नपुगेको भन्दै अधिकांश कर्मचारीहरूमा स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । त्यस्तै कर्मचारीहरूले प्राधिकरणको आफ्नै स्वामित्वको घर जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्न माग राखेका छन् ।
दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरूयोजना, पदपूर्ति तथा ओ एन्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक, हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृत्ति विकास सुनिश्चितता हुने गरी तत्काल अगाडि बढाउन पनि माग गरिएको छ ।