काठमाडौं । मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बुधबार विभिन्न सामाजिक सञ्जालमा आफ्नो एउटा फोटो सार्वजनिक गरे । उक्त फोटो मेटा एआईको सहायताले तयार पारेको उनले उल्लेख गरेका छन् ।
फोटोमा जुकरबर्गले सुनको ठूलो सिक्री लगाएको देख्न सकिन्छ । इन्स्टाग्राममा उक्त फोटो कसरी बनाइएको छ भन्ने देखाइएको छ । त्यसका लागि जुकरबर्गले इन्स्टाग्राममा सबैभन्दा पहिले मेटा एआईको च्याटबक्स खोलेका छन् ।
त्यसपछि आफूलाई ग्लाडिटर (पौराणिक रोमको लडाकु) जस्तो देखाउन अनुरोध गरेका छन् । त्यसपछि च्याटमा जुकरबर्गलाई उनको चारैतिरको फोटो एड गर्न भनिन्छ । त्यसपछि एआईले त्यही अनुसारको फोटो तयार पारिदिन्छ ।
अनि जुकरबर्गले प्रम्प्ट दिएर माइक समातेको फोटो, सुनको चेन लगाएको फोटो, स्ट्रिटवेयर डिजाइनर, एक्सन गेम जस्तो फोटो बनाउन भनेका छन् । र, एआईले उनले भनेकै जस्तो फोटो तयार पारिदिएको छ ।
जुकरबर्गले त्यही फोटोसँगै मेटा एआईको नयाँ फिचर सार्वजनिक गरेको घोषणा गरेका छन् । उनका अनुसार अहिले यो फिचर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको वेब भर्सनमा उपलब्ध भइसकेको छ ।
मेटा एआईको नयाँ फिचरले प्रयोगकर्तालाई उनीहरूको एआई भर्सनको फोटो तयार पार्न र त्यसलाई सामाजिक सञ्जालका विभिन्न माध्यममा शेयर गर्न सक्नेछन् ।
यससँगै मेटाले आफ्नो एआईको नयाँ भर्सन 'Llama 3.1 405B' पनि सार्वजनिक गरेको छ । नयाँ मोडेलले जटिल प्रश्नहरू पनि सम्बोधन गर्न सक्ने बताइएको छ ।
सुरुवाती चरणमा मेटाको एआई केही सीमित देशमा मात्र उपलब्ध भएको छ । विश्वव्यापी रूपमा यो फिचर कहिले उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन ।