close

गुगल मेसेजलाई जित्न नसकेपछि आफ्नै मेसेजिङ एप हटाउँदै सामसङ

टेकपाना टेकपाना

साउन ११, २०८१ ९:३१

गुगल मेसेजलाई जित्न नसकेपछि आफ्नै मेसेजिङ एप हटाउँदै सामसङ

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी फोनबाट आफ्नो मेसेजिङ एप हटाउने भएको छ । डिफल्ट रूपमा सामसङका फोनमा उपलब्ध हुने मेसेजिङ एप कम्पनीले ग्यालेक्सी जेड फ्लिप सिक्स र जेड फोल्ड सिक्सबाट हटिसकेको छ । त्यसको सट्टा कम्पनीले गुगल मेसेजलाई नै डिफल्ट मेसेजिङ एप बनाएको छ ।

बाहिरिएका विभिन्न रिपोर्ट अनुसार कम्पनीले अब बजारमा ल्याउने नयाँ फोनमा सामसङको मेसेजिङ एप भने उपलब्ध हुने छैन । एन्ड्रोइड अथोरिटीसँगको कुरामा पनि सामसङले अब नयाँ फोनमा सामसङ एप उपलब्ध नगराउने पुष्टि गरेको छ ।

खासगरी कम्पनीले आफ्नो मेसेजिङ एपलाई विस्थापित गर्दै लैजानुको कारण आरसीएस (रिच कम्युनिकेसन सर्भिसेस) भएको बताइएको छ । यसअन्तर्गत इन्टरनेटको सहायताले मेसेजिङ एपबाटै फोटो, टेक्स्ट, भिडिओ र साउन्ड लगायतका सामग्री पठाउन सकिन्छ ।

त्यसबाहेक आरसीएसमा मेसेज सिन भएको र मेसेज टाइपिङ भएको जानकारी पनि पाइन्छ । आरसीएसको सन्दर्भमा सामसङ मेसेजभन्दा गुगल मेसेज अगाडि छ । त्यस्तै युजर इन्टफेसको सन्दर्भमा पनि गुगल मेसेज अगाडि नै छ । विशेषगरी गुगल मेसेजमा आरसीएसले जुनसुकै नेटवर्कमा काम गर्न सक्छ । तर, सामसङ मेसेजले भने मोबाइल नेटवर्कमा मात्र आरसीएस सपोर्ट गर्छ ।

त्यसबाहेक हाई क्वालिटी फोटो तथा भिडिओ पठाउनका लागि पनि सामसङ मेसेजभन्दा गुगल मेसेज नै अगाडि छ । वेबमा मेसेजिङ एप प्रयोग गर्न पनि गुगल मेसेज प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८१ ९:३१