काठमाडौं । बैंक तथा वालेट कम्पनीको कर्मचारी भएको भन्दै ओटीपी मागेर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौं नरेफाँटमा बस्दै आएका ३० वर्षीय सत्यमकुमार सहनी र २१ वर्षीय शुभम साह रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यी युवकहरू सबैभन्दा पहिले सर्वसाधारणको नम्बरमा फोन गर्थे । त्यसपछि आफू बैंक वा वालेटको कर्मचारी भएको सुनाउँथे ।
वालेट बैंकसँग लिङ्क गर्ने, सेक्युअर ट्रान्सफर चार्ज मिलाइदिने तथा अनलाइन गेम शेयर गरिदिने भन्दै सर्वसाधारणलाई विश्वासमा पार्थे । त्यसपछि उनीहरूको एसएमएसमा आएको कोड पठाउन भन्थे । र, त्यही कोड प्रयोग गरी अकाउन्ट आफ्नो डिभाइसमा लगइन गरेर रकम आफूले चाहेको अकाउन्टमा पठाउँथे । यसरी पाएको रकम उनीहरू पसल, रेस्टुरेन्ट, लज, डान्सबार आदिमा गई खर्च गर्थे र क्यूआरबाट भुक्तानी गर्थे । त्यसबाहेक लत्ताकपडा किन्न खर्चिन्थे ।
प्रहरीका अनुसार उनीहरूले अनलाइन ठगीका लागि अन्य धन्दा समेत गर्थे । नरेफाँट क्षेत्रका युवाहरूलाई साथमा लिई अनलाइन गेमका लागि ९० जनालाई आईडी शेयर गर्दा १५ हजार रुपैयाँ आउँछ भन्दै लोभ देखाउँथे । र, फेस स्क्यान गर्ने भन्दै पासपोर्ट साइजको फोटो खिच्थे । त्यसपछि सक्कली नागरिकता मागेर त्यसको पनि फोटो खिच्थे । र, त्यही कागजात प्रयोग गरी ईसेवा वालेट भेरिफाई गर्थे । उनीहरूले यसरी कति सङ्ख्यामा वालेट भेरिफाई गरे भन्ने खुलेको छैन ।
त्यस्तै उनीहरूले फेसबुक मार्केटप्लेसको दुरुपयोग गरी ठगी धन्दामा लागेको समेत पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एटीएम कार्ड, मोबाइल सेट, नागरिकता र राष्ट्रिय परिचयपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।