close

मोबाइल एप 'कता हो’ले ल्यायो क्यूआर कोड ट्याग, अब हराउने सामान फेला पार्न सजिलो हुने

टेकपाना टेकपाना

साउन २१, २०८१ १४:२४

मोबाइल एप 'कता हो’ले ल्यायो क्यूआर कोड ट्याग, अब हराउने सामान फेला पार्न सजिलो हुने

काठमाडौं । नेपालमै तयार पारिएको डिजिटल ठेगाना प्रणाली 'कता हो?' ले क्यूआर कोडमा आधारित ट्याग सार्वजनिक गरेको छ । हराएका सामान भेटाउन सजिलो हुने गरी एड्रेस ग्राफ नेपाल प्रालिले ट्यागको सेवा सुरु गरेको हो ।

यससँगै अब 'कता हो' एपमार्फत् निःशुल्क क्यूआर कोड ट्याग तयार पारी आफ्ना सामानमा टाँस गर्न सकिने भएको छ । यसरी क्यूआर कोड टाँसिएको सामान हराएमा फेला पार्ने जो कोहीले पनि सामान धनी पत्ता लगाउन सक्नेछन् ।

यसको प्रयोगले यात्रा गर्ने व्यक्तिहरू विश्वभर जुनसुकै स्थानमा पुगेतापनि उनीहरूको सामान हराएमा फेला पार्ने व्यक्तिले सोझै सामान धनी पत्ता लगाइ सामान फिर्ता गर्न सक्छन् । आफ्नो पासपोर्ट, पर्स, साँचो, सुटकेस, मोबाइल, ल्यापटप जस्ता सामानहरूमा यो ट्याग टाँस गर्न सकिने एड्रेस ग्राफ नेपालले जनाएको छ ।

त्यस्तै सवारी साधन पार्किङमा राख्दा अन्य सवारी साधनलाई समस्या परेमा तुरुन्तै सवारी धनीलाई जानकारी गराउन समेत यसको प्रयोग गर्न सकिन्छ ।

दुई दशकदेखि नेपालमा विभिन्न प्रविधिहरू माथि अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता राम-लक्ष्मणको टिमले तयार पारेको 'कता हो'ले गत माघमा आफ्नो डिजिटल ठेगाना प्रणाली सार्वजनिक गरेको थियो । यस मार्फत स्वतःस्फूर्त रूपमा देशैभरबाट डिजिटल ठेगाना बनिरहेका छन् ।

कतिपय स्थानीय सरकारहरूले त यसै प्रणालीको माध्यमबाट ठेगाना तयार गरी टाँस गर्न कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाएका छन् ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८१ १४:२५