काठमाडौं । रविन कुमार नेपाल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । अध्यक्ष नेपालले सोमबार मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका कायम मुकायम कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।
विगत २० वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा सेवा दिँदै आएको स्मार्ट च्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यूआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवा प्रदान गर्दै आएको छ ।
को हुन् अध्यक्ष नेपाल ?
अध्यक्ष नेपालले नेपाल ग्रिनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ करियर सुरुवात गरेका थिए । हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका उनी यसअघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकालसम्म अध्यक्षको भूमिकामा रहेका थिए ।
विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो अनुभव भएका नेपालसँग डिजिटल भुक्तानीको समेत राम्रो अनुभव रहेको छ । तीन दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका उनको नेतृत्वमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास छ ।