काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध गराउने भएको छ । यसअघि प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गर्नुपर्ने अवस्था रहेकोमा आजदेखि सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा यो सेवा क्रमिक रूपमा स्वतः उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
ग्राहकले *1415*7# डायल गरेर उपलब्ध मेनुबाट उपयुक्त विकल्प चयन गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको निश्चित गर्न सक्छन् ।
यसअन्तर्गत टेलिकमले भारतबाहेकका अन्य देशहरूमा पनि यो सुविधा क्रमशः उपलब्ध गराउँदै जाने योजना बनाएको छ । भारतमा यो सेवा प्रयोग गर्न नेपालमै रहँदा *1415*7# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत रोमिङ सेवा एक्टिभेट गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय रोमिङ सेवा एक्टिभेट गरेका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।
यदि ग्राहकले नेपालमै रहँदा रोमिङ सेवा एक्टिभेट नगरी विदेश गएमा, विदेशबाटै यो सेवा एक्टिभेट गर्न ग्राहकले [email protected] मा ईमेल गरेर अनुरोध गर्न सक्नेछन् ।
हाल नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत ४० देशमा रोमिङ सुविधा उपलब्ध छ । सेवाग्राहीले ती देशमा रहेका ५४ अपरेटरहरूसँगको सम्झौताको आधारमा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।