close

टेलिकमको सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले तिर्नुपर्‍यो अतिरिक्त शुल्क, अब के हुन्छ ?

टेकपाना टेकपाना

साउन ३२, २०८१ ११:५३

टेलिकमको सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले तिर्नुपर्‍यो अतिरिक्त शुल्क, अब के हुन्छ ?

काठमाडौं । आज शुक्रबार बिहान नेपाल टेलिकमका लाखौं पोस्टपेड मोबाइल प्रयोगकर्ताको ब्यालेन्स गायब भएको पाइएको छ । शुक्रबार ग्राहकको फोनमा ब्यालेन्स कम हुने तथा वन वे हुने कल ब्यारिअर हुने समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता* किशोरकुमार भट्टका अनुसार कम्पनीको सिस्टममा समस्या आउँदा केही समयका लागि कल ब्यारियर हुने समस्या देखिएको थियो । “हाम्रो सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले कल ब्यारिअरको समस्या सामना गर्नुपर्‍यो,” टेकपानासँग कुरा गर्दै प्रवक्ता भट्टले भने, “अहिले यो समस्या समाधान भइसकेको छ ।”

नेपाल टेलिकमले प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ । यो कार्य सामान्यतः १५ तारिख राति सुरु गरी सोही रातभरमा सम्पन्न हुने गर्छ । 

यसरी मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्दा रेन्टल प्याक खरिद गरी चलाइरहेका प्रयोगकर्ताको समेत कल ब्यारियर हुन पुगेको छ । त्यो हुँदा धेरै ग्राहकले सामाजिक सञ्जाल एक्समा यस विषयमा गुनासो गरिरहेका छन् । यो विषयमा टेलिकमसँग कुराकानी गर्दा भट्टले भने, “सिस्टमले रेन्टल प्याक लिने ग्राहकको समेत नर्मल हिसाबले हेरिदिदाँ यस्तो समस्या आएको हो । अहिले यो समस्या समाधान भइसकेको छ ।”

यसरी टेलिकमको सेवामा समस्या आउँदा धेरै प्रयोगकर्ताले ब्यालेन्स रिचार्ज गरी सेवा सुचारु गरेका थिए । रेन्टल प्याकको अवधि बाँकी छँदै रिचार्ज गर्ने प्रयोगकर्ताको ब्यालेन्स के हुन्छ त ? भन्ने प्रश्नमा भट्ट भन्छन, ''रेन्टल प्याक खरिद गर्ने र प्याकको अवधि बाँकी रहेका प्रयोगकर्ताले आज रिचार्ज गरेको रकम उनीहरूको मुख्य ब्यालेन्सको रुपमा मोबाइलमै रहने छ ।"
यसको अर्थ प्रयोगकर्ताले ब्यालेन्स हालेको भएको पनि रेन्टल प्याक नसकिँदा सम्म उक्त ब्यालेन्स खर्च नहुने गरी मोबाइलमै बस्ने भट्टले बताएका छन् ।

(समाचारमा नेपाल टेलिकमको प्रवक्तामा किशोर कुमार भट्ट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -स. )

 

पछिल्लो अध्यावधिक: साउन ३२, २०८१ १२:५०