close

इन्जिनियर र आईटी विज्ञहरूलाई सूचीकृत गर्दै सरकार, ईमेलबाट निवेदन दिन आग्रह

टेकपाना टेकपाना

भदौ १, २०८१ १९:१३

इन्जिनियर र आईटी विज्ञहरूलाई सूचीकृत गर्दै सरकार, ईमेलबाट निवेदन दिन आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्जिनियर, आईटी विज्ञ लगायतलाई सूचीकृत गर्ने भएको छ । शनिवार एक सूचना निकाल्दै केन्द्रले विज्ञ सूचीमा समावेश हुन आह्वान गरेको हो । 

केन्द्रका अनुसार विविध कार्यक्रमहरूका लागि विज्ञ सेवा आवश्यक हुने भएकोले न्यूनतम योग्यता र सम्बन्धित विषयमा अनुभव प्राप्त इच्छुक व्यक्तिहरूलाई सूचीकृत हुन आह्वान गरिएको हो । विज्ञ सूचीमा समावेश हुन इच्छुक व्यक्तिले अबको सात दिनभित्र १० रुपैयाँको टिकट टाँसी आवश्यक संलग्न गर्नुपर्ने कागजातको स्क्यान कपीसहित निवेदन दिनु पर्नेछ । 

निवेदन पठाउँदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको पत्र, नियुक्ति पत्रको प्रतिलिपि तथा शिक्षण संस्थाबाट सम्बन्धित विषय शिक्षण सिकाइ गरेको प्रमाणित पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्र समावेश गर्नु पर्नेछ । 

इच्छुक व्यक्तिले केन्द्रको ईमेल अथवा कार्यालयमा स्वयं उपस्थित भएर निवेदन दिन सक्नेछन् ।

प्राप्त निवेदनहरूको जाँच गरी सूचीकृतका लागि छनोट भएका विज्ञहरूको सूची शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा प्रकाशित गर्ने तथा विविध कार्यक्रमहरूमा आवश्यकता अनुसार आमन्त्रण गरिने बताइएको छ । 

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: भदौ १, २०८१ १९:३१