काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । ३२ साउनमा न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत पुगेको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
उक्त आदेश विरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने मागका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले पनि उच्चकै आदेशलाई सदर गरेपछि अब यशोदा फुड्सले अहिलेको भन्दा फरक ट्रेडमार्कमा चाउचाउ ल्याउनुपर्ने भएको छ ।
यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाई जस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको थियो ।
चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले आफ्नो ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको आरोप छ ।
यस आदेशसँगै वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिए अदालतको मानहानि गरेको मानिने भएकाले यस्तो कार्य नगर्न अदालतले आदेश दिएको छ ।
अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको सीजी फुड्सले प्रतिक्रिया दिएको छ ।