close

जब अनलाइनमा साथी बनेका युवकले हुनेवाला श्रीमान्‌लाई यौन सम्बन्ध राखेको भिडिओ पठाइदिए...

टेकपाना टेकपाना

भदौ ५, २०८१ १८:९

जब अनलाइनमा साथी बनेका युवकले हुनेवाला श्रीमान्‌लाई यौन सम्बन्ध राखेको भिडिओ पठाइदिए...

काठमाडौं । झन्डै एक वर्ष अगाडि रश्मिका शर्मा (नाम परिवर्तन)को चिनजान ३४ वर्षीय सञ्जय खनालसँग स्न्यापच्याटमा भएको थियो । स्न्यापच्याटमा सामान्य कुरा हुँदै अगाडि बढेको सम्बन्ध मोबाइल नम्बर साटासाट भई ह्वाट्सएपसम्म पुग्यो । उनीहरूबीच घनिष्ट सम्बन्ध स्थापित भइसकेको थियो । दुवै काठमाडौंमा बस्ने भएकाले कहिलेकाहीं भेट भइरहन्थ्यो । 

भेटघाट बाक्लिँदै जाँदा उनीहरूबीच शारीरिक सम्बन्ध समेत हुन थाल्यो । खनालले  यौन गतिविधिको भिडिओ बनाउनुका साथै फोटो खिचेर राख्थे । युवतीले फोटो र भिडिओ डिलिट गर्न अनुरोध गर्थिन्, तर खनालले केही समयपछि डिलिट गर्छु भन्दै विश्वास दिलाउँथे ।

यसरी नै दिन अगाडि बढ्थै थिए । 

पछि युवतीको अर्कै युवकसँग बिहेको कुरा चल्यो । बिहे गर्ने भनेका युवकसँग युवती नजिकिइन् । एक दिन ती युवकले हुनेवाली श्रीमती र सञ्जय खनालको सम्बन्ध नजिक रहेको चाल पाए । त्यसपछि आफू, युवती र सञ्जय खनालबीच ह्वाट्सएपमा ग्रुप च्याट भयो ।

त्यस क्रममा उनले खनाल र युवतीबीचको सम्बन्धका बारेमा बुझ्न खोजे । खनालले आफूहरूबीच साथीको सम्बन्धमात्रै रहेको भन्दै विश्वस्त दिलाउन खोजे । बिहे गर्न खोजेका युवकले बढी नै शंका गरेपछि खनालले आइन्दा युवतीसँग सम्पर्कमा नबस्ने प्रतिवद्धता जनाए ।

तर युवती भने अनलाइनमा खनालसँग च्याट गरिरहन्थिन् । त्यही क्रममा युवतीले इन्स्टाग्राममा अन्य केटाहरूसँग पनि बोल्न थालेको सुइँको​ पाएपछि खनाललाई युवतीप्रति रिस उठ्यो । अनि आवेगमा आएर आफूसँग भएका सबै अश्लील भिडिओ युवतीकी आमा र बिहे हुन लागेका युवकलाई पठाइदिए । 

यसपछि युवतीको परिवारमा बित्यास आयो । अश्लील शब्दसहितको मेसेज र शारीरिक सम्बन्ध राखेको भिडिओ बाहिरिएपछि आफ्नो अपमान तथा चरित्रहत्या भएको भन्दै युवतीले प्रहरी कार्यालयमा सञ्जय खनालको नाममा किटानी जाहेरी दिइन् । 

सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा आरोपित खनालको फोनको ह्वाट्सएपमा अश्लील मेसेज र फोटो भिडिओ पठाएको अकाउन्ट लगइन रहेको फेला पर्‍यो । त्यसबाहेक युवतीका अश्लील फोटो/भिडिओ ग्यालरीको स्न्यापच्याट फोल्डरमा रहेको देखियो । गुगल फोटोजमा पनि ती फोटो/भिडिओ अपलोड भएको भेटियो ।

यसरी प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न भएको भेटिएपछि प्रहरीले खनाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्यो ।

प्रहरीलाई बयान दिने क्रममा खनालले युवतीले अन्य केटाहरूसँग पनि कुरा भएकाे थाहा पाएपछि ह्वाट्सएपमार्फत अश्लील फोटो/भिडिओ पठाएको स्वीकारेका छन् । 

खनाललाई प्रतिवादी बनाएर ३२ साउनमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

अभियोगपत्रमा खनाललाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारवाही गर्न मागदाबी पेस गरिएको छ । त्यस्तै पीडित युवतीलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ५८ क बमोजिम प्रतिवादीबाट क्षतिपूर्ति भराइदिन समेत अनुरोध गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८१ १८:३५