close

पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाटै नग्न तस्बिर माग, पक्राउपछि भेटिए ३२ वर्षे पुरुष

टेकपाना टेकपाना

जेठ १३, २०८३ १४:३२

पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाटै नग्न तस्बिर माग, पक्राउपछि भेटिए ३२ वर्षे पुरुष

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर आफूलाई महिला डाक्टर तथा नर्सको भेषमा प्रस्तुत गर्दै युवती र बालिकाहरूलाई नग्न तस्विर माग्दै ब्ल्याकमेल गर्ने एक ३२ वर्षीय पुरुष पक्राउ परेका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-४ बस्ने ३२ वर्षीय निर्मल थापा क्षेत्रीले फेसबुकमा सरिता मगर र रेजिना थापा नामका नक्कली आईडी बनाएर साइबर अपराध गरेको भन्दै रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

अदालतमा दायर अभियोगपत्र अनुसार प्रतिवादी निर्मल थापाले १४ वर्षकी एक बालिकालाई रेजिना थापा नामक फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । आफूलाई पाल्पा मिसन अस्पतालकी महिला डाक्टर भएको बताउँदै उनले ती बालिकालाई कुनै रोग लागेको हुन सक्ने भन्दै डर देखाए ।

त्यसपछि अनलाइनबाटै फुल बडी चेकअप गर्ने भन्दै विश्वासमा पारेर बालिकालाई सम्पूर्ण शरीर देखिने नग्न फोटो र भिडिओ पठाउन लगाए ।बालिकाले विश्वासमा परेर फोटो पठाएपछि उनले कतारको मोबाइल नम्बर र नेपालको नम्बरबाट ह्वाट्सएपमा मेसेज तथा कल गर्न थाले ।

'मेडिकल रिपोर्ट राम्रो आएन, भेटेरै औषधि हाल्नुपर्छ' भन्दै उनले बालिकालाई अर्घाखाँची र पाल्पाको सिमानामा पर्ने विभिन्न ठाउँमा भेट्न बोलाए । बालिकाले भेट्न इन्कार गरेपछि ती नग्न तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल गरिदिने तथा आफन्तलाई पठाइदिने धम्की दिएर ब्ल्याकमेल गरेको अनुसन्धानबाट खुलेको छ । बालिकालाई उनले जबरजस्ती करणी गर्ने मनसायले डर त्रास देखाएर भेट्न बोलाएको र ब्ल्याकमेल गरेको अभियोगमा उल्लेख छ ।

यसैगरी अर्को एक घटनामा उनै थापाले सरिता मगर नामको फेक आईडीमार्फत २० वर्षकी अर्की युवतीसँग आफूलाई नर्स भएको बताउँदै कुराकानी गरेका थिए । ती युवतीलाई भलिबल टिममा दर्ता गराइदिने र त्यसका लागि मेडिकल रिपोर्ट आवश्यक पर्ने भन्दै कपडा खोलेर शरीर देखिने फोटो पठाउन भनेका थिए ।

प्रस्ताव इन्कार गरेपछि थापाले युवतीको फेसबुकबाट साधारण फोटो डाउनलोड गरी टाउको काटेर अन्य महिलाको नग्न शरीरमा जोडी अश्लील फोटो बनाएर मेसेन्जरमा पठाएर ब्ल्याकमेल गर्न खोजेका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष कतार बसेर फर्किएका थापाले कतारी सिमकार्डबाट ह्वाट्सएप चलाई आफ्नो सक्कली पहिचान लुकाउने प्रयास गरेका थिए । पक्राउ परेपछि दिएको बयानमा उनले आफूले केटी साथीहरूसँग कुरा गर्न सरिता मगरको फेक आईडी बनाएको र 'पाल्पा मिसन अस्पतालको डाक्टर हुँ' भन्दै ढाँटेको स्वीकार गरेका छन् ।

उनले रमाइलोका लागि बालिकाहरूको गोप्य अङ्ग हेर्न नग्न फोटो मगाएको र डर देखाएर भेट्न बोलाएको साबिती बयान दिएका छन् । उजुरी परेपछि ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले थापाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा कडा सजायको मागदाबी गर्दै रूपन्देही जिल्ला अदालतमा अभियोग-पत्र प्रस्तुत गरेको छ । साथै सोही ऐनको दफा ५६ बमोजिम कसुर गर्न प्रयोग भएको मोबाइल जफत गर्न र दफा ५८ (क) तथा ५८ बमोजिम कसुरदारबाट पीडितहरूलाई मनासिब क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १४:३२