close

ईमेलमा अश्लील सन्देश पठाएर महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार २९, २०८३ १३:१८

ईमेलमा अश्लील सन्देश पठाएर महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले ईमेलमार्फत बारम्बार अश्लील तथा अपमानजनक सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोका अनुसार पीडित महिलाले दिएको निवेदनका आधारमा प्रहरीले तनहुँको तानसेन गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२७ मा बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई पक्राउ गरेको हो ।

पीडित महिलाले आफूलाई पटक-पटक अश्लील तथा अपमानजनक ईमेल पठाएर दुःख दिने, मानसिक तनाव सिर्जना गर्ने तथा चरित्रहत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिएकी थिइन् । सोही आधारमा प्रहरीले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा खनाल पक्राउ परेका हुन् । खनाललाई असार २६ गते काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरिएको हो । 

पक्राउ परेका खनालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २९, २०८३ १३:१९