close

बीवाईडी एट्टो थ्रीको अपडेटेड ‘कसमस ब्ल्याक’ भेरियन्ट सार्वजनिक, मूल्य ५६ लाख ९० हजार रुपैयाँ

टेकपाना टेकपाना

भदौ ८, २०८१ १२:२३

बीवाईडी एट्टो थ्रीको अपडेटेड ‘कसमस ब्ल्याक’ भेरियन्ट सार्वजनिक, मूल्य ५६ लाख ९० हजार रुपैयाँ

काठमाडौं । चिनियाँ सवारी निर्माता बीवाईडीको २०२४ मोडेल नेपालमा सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इङ्कले अपडेटेड भर्सन सार्वजनिक गरेको हो । 

नेपालमा बीवाईडी एट्टो थ्री माघ २०७९ मा सार्वजनिक भएको थियो । आजका मितिसम्म यो गाडी नेपालमा २५ सय युनिटभन्दा बढी बिक्री भइसकेको कम्पनीका सीईओ शाहिल श्रेष्ठले जानकारी दिए । 

त्यही गाडीको अपडेटेड भर्सन अर्थात् बीवाईडी एट्टो थ्री २०२४ भर्सन ल्याएको हो । कम्पनीका अनुसार यो गाडी एड्भान्स्ड र सुपेरियर गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । बीवाईडी एट्टो थ्री २०२४ को एड्भान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै यसैको सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । 

पहिले नेपाल आएको एट्टो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने नयाँ भेरियन्टमा १५.१६ इन्चको स्क्रिन छ । 

कम्पनीका अनुसार यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार ओटा कलर भेरियन्टमा खरिद गर्न सकिन्छ । यसको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ ।

१०० किलोवाट क्षमताको ब्याट्री भएको यस गाडीले उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ । त्यस्तै एक पटकको चार्जमा यस भर्सनले ४२० किलोमिटर (डब्लूएलटीसी) रेन्ज दिने कम्पनीको दाबी छ । 

नयाँ भर्सनको टेल ब्याज पनि अपडेट गरिएको छ । अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखेको देखिन्छ । त्यस्तै यसको इन्टेरियरमा डार्क ब्लु र ब्ल्याकको मिश्रण पाउन सकिन्छ । कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ । 

त्यस्तै यस गाडीको एड्भान्स्ड भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा पनि सुपेरियर भर्सन जस्तै १०० किलोवाट क्षमताको मोटर राखिएको छ । यसले पनि उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ । रेन्जको सन्दर्भमा भने यसले एक पटकको चार्जमा ३४५ किलोमिटर रेन्ज दिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८१ १२:३३