close

पठाओले नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिदिने

टेकपाना टेकपाना

भदौ १६, २०८१ १०:४

पठाओले नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिदिने

काठमाडौं । पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै सामान डेलिभरी गर्ने भएको छ । व्यवसायहरूले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आजदेखि १४ असोजसम्म यो सेवा पाउने भएका छन् ।

काठमाडौं उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौंका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिलबोर्ड' डुलाएर कपडा, फेसन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।

पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टाभित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिनभित्र सामान डेलिभरी भइसक्ने पठाओले जनाएको छ ।

२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्न एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा आईओएस प्रयोगकर्ताले एपस्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् । 

पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टहरूको आफ्नै छुट्टै प्रोफेसनल ड्यासबोर्ड हुनेछ, जसबाट पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्र्याक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टाभित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् ।

नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै सबैभन्दा ठूलो डेलिभरी कम्पनी भएको हमालको दाबी छ ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ १०:९