काठमाडौं । नोकिया फोन निर्माता कम्पनी ह्युमन मोबाइल डिभाइस (एचएमडी) ले बार्बी फ्लिप फोन सार्वजनिक गरेको छ । जुलाई २०२३ मा प्रदर्शन भएको फिल्म बार्बीको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो ।
एचएमडीले बार्बी डल निर्माता कम्पनी म्याटलसँग सहकार्य गरेर यो ‘बार्बी फ्लिप फोन’को डिजाइन गरेको थियो । २८ अगस्टमा कम्पनीले बार्बी फोन बेलायतमा सार्वजनिक गरेको हो ।
विश्वबजारमा आधुनिक स्मार्टफोनको लोकप्रियता बढ्दै गइरहेको समयमा एचएमडीले नयाँ पुस्ता (जेन जी) का लागि पुरानो शैलीको फोन ल्याएको छ । यस फोनमा प्रयोगकर्ताको ध्यान ‘ध्यान भङ्ग गर्ने’ एपहरू छैनन् । फोनको डिजाइन गुलाबी रङ्गमा छ, जसले बार्बी फिल्मको शैलीलाई दर्शाएको छ ।
एचएमडीले बार्बी फ्लिप फोनको कभरमा सो फिल्मका मुख्य दुई पात्रहरू राखेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने कभर छनोट गर्न सक्नेछन् । फोनमा समावेश गरिएका स्टिकर र क्रिस्टलहरू प्रयोगकर्ताले आफूले चाहेको जस्तो राख्न सक्ने बताइएको छ ।
कम्पनीले दाबी गरे अनुसार फोन खोल्ने हो भने पुरै फिल्मको दृश्य वास्तविकतामै बाहिर भएको अनुभव गर्न सकिनेछ । तर, यसमा इन्टरनेट नभएकाले थप एप इन्स्टल गर्न र अन्य सामग्री डाउनलोड गर्न भने सकिने छैन ।
सामाजिक सञ्जालबाट नयाँ पुस्ता (विशेषगरी जेन जीलाई लक्षित भनिएको भए पनि सबै प्रयोगकर्ता) लाई टाढा राख्न यो शैलीको फोन निर्माण गरिएको कम्पनीले जनाएको छ । इन्टरनेट वा कुनै एप सपोर्ट नगर्ने भए पनि फोटो खिच्नका लागि भने यो फोनमा क्यामेरा दिइएको छ । तपाईंले यो फोन कल गर्न, एसएमएस गर्न र म्युजिक सुन्नका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
खासगरी आधुनिक स्मार्टफोनमा प्रयोगकर्ताले चाहेर वा नचाहेर आफ्नो अमूल्य समय खेर फालिरहेका हुन्छन् । धेरै समय त्यसैमा बिताउँदा मान्छेलाई स्मार्टफोनको दुनियाँबाट टाढा रहने चाहना हुन्छ । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले ‘बार्बी फ्लिप फोन’ ल्याएको हो ।
“तपाईंले केही समय वास्तविक दुनियाँमा बिताउनु भयो भने त्यसलाई केहीले जित्न सक्दैन,” एचएमडीले भनेको छ, “एचएमडी बार्बी फोन यही फिचरले भरिएको फोन हो । यहाँ ध्यान भङ्ग गर्ने वा तपाईंलाई डिजिटल संसारमा अल्झाइराख्ने कुनै एप छैनन् ।”
भर्चुअल संसारबाट ब्रेक लिई केही समयको लागि वास्तविक दुनियाँमा मान्छेलाई रमाउन दिने मनसायले यस्तो डिजाइनको फोन ल्याइएको बताइएको छ । कम्पनीले अगाडि भनेको छ, “अनलाइन दुनियाँमा अभ्यस्त भइरहँदा तपाईंले कुन बेला ब्रेक लिने भन्ने थाहा नै पाउनु हुन्न । किनभने यो कहिल्यै रोकिंदैन । हरेक पटक नयाँ नयाँ सूचना आइरहन्छन् । त्यसैले इन्टरनेट ब्राउजलाई कम गर्न र वास्तविक दुनियाँमा रमाउन चाहना हुनेहरूलाई यस फोनले प्रोत्साहन दिनेछ ।”
यसमा ६४ एमबी र्याम र १२८ एमबी स्टोरेज रहेको छ । फोनमा दुई ओटा सिम प्रयोग गर्न मिल्छ । २८ अगस्टमा सार्वजनिक भएको यो फोनको मूल्य ९९.९९ पाउन्ड (करिब १७ हजार ४२० रुपैयाँ) तोकिएको छ । सुरुवाति चरणमा यो फोन बेलायतमा सार्वजनिक भएको छ । विश्व बजारमा कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा भने कुनै जानकारी बाहिरिएको छैन ।