इन्स्टाग्रामको एआईले बचायो आत्महत्या गर्न तम्सिएकी २१ वर्षीय एक युवतीको ज्यान
भदौ २४, २०८१ १०:४३
काठमाडौं । आत्महत्या गर्न खोजेकी २१ वर्षीय युवतीको ज्यान मेटा एआईका कारण जोगिएको छ । आत्महत्या गर्न लागेको भिडिओ युवतीले इन्स्टाग्राममा पोस्ट गरेपछि मेटा एआईले त्यसको जानकारी नजिकैको प्रहरीलाई पठाएको थियो ।
उक्त अलर्ट पछ्याउँदै घटनास्थल पुगेको प्रहरीले झुन्डिन लागेको अवस्थामा युवतीलाई उद्धार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । २१ वर्षीय युवतीको विवाह गाउँकै एक युवकसँग भएको थियो ।
बिहे गरेर युवकले उनलाई आफ्नो घरमा लगेको भए पनि उनीहरूको विवाह दर्ता भने भएको थिएन । लखनउ प्रहरीका अनुसार युवकले छोडेपछि मानसिक रूपमा विक्षिप्त भएकी उनले आत्महत्या गर्ने योजना बनाएकी थिइन् । आत्महत्या गर्न खोजेकी ती युवतीले आफ्नो घाँटीमा पासो लगाउन लागेको भिडिओ बनाएर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । पोस्ट गर्नासाथ उक्त भिडिओ भाइरल भएको थियो ।
मेटा कम्पनी के अलर्ट से सूचना प्राप्त होने पर थाना निगोहां पुलिस टीम द्वारा त्वरित कार्यवाही करते हुए तत्काल मौके पर पहुंचकर महिला को आत्महत्या करने से रोका गया एवं उनकी काउंसिलिंग कर समझाया गया ।#UPPCares@Uppolice pic.twitter.com/hwYOu1aPSR
— LUCKNOW POLICE (@lkopolice) August 31, 2024
त्यस लगत्तै प्रहरीको ‘महानिर्देशक कार्यालयको सामाजिक सञ्जाल केन्द्र’मा मेटा एआईले अलर्ट पठाएको थियो । त्यसको जानकारी पाउना साथ प्रहरी सक्रिय भएर घटना हुन लागेको स्थानतर्फ गएको थियो । यसरी पासो लगाएर झुन्डिन खोजिरहको अवस्थामा घरमा पुगेको प्रहरीले ती युवतीको उद्धार गरेको हो ।
“शनिबार बेलुकातिर मेटा एआईबाट हाम्रो कार्यालयमा एक महिलाले आत्महत्या गर्न लागेको भन्ने सूचना आएको थियो,” एसीपी मोहनलालगञ्ज रजनिश बर्माले प्रेस ट्रस्ट अफ इन्डियालाई भनेका छन्, “त्यस लगत्तै घटनास्थलमा पुगेको प्रहरीले महिलाको उद्धार गरेको हो ।”
मेटा एआईले कसरी कसरी पहिचान गर्यो आत्महत्या हुन सक्ने कुरा ?
मेटा एआईले आफ्ना विभिन्न प्लेटफर्ममा आत्महत्या सम्बन्धी भिडिओलाई कडा रूपमा निगरानी गरिरहेको हुन्छ । कम्पनीले स्तरीय प्रविधि र विभिन्न रणनीति अपनाएर एआईमार्फत त्यस्ता घटना पहिचान गर्न सक्ने बनाएको छ ।
मेटा एआईले पोस्टको क्याप्सन, त्यसमा आएका कन्टेन्ट र डाइरेक्ट मेसेजमा आएका मेसेजलाई विश्लेषण गरेर कुनै प्रयोगकर्ताले आत्महत्या गर्न खोजेको हो वा होइन भन्ने पहिचान गर्छ । यसरी ती महिलाको सन्दर्भमा पनि एआईले आत्महत्या गर्न लागेको पहिचान गरी जानकारी गराइएको उल्लेख छ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १७:५९
