close

युट्युबर मिस्टर हुज द बोसले झण्डै १ करोड खर्चेर बनाए विश्वको सबैभन्दा ठुलो आईफोन

टेकपाना टेकपाना

भदौ २४, २०८१ १४:१४

युट्युबर मिस्टर हुज द बोसले झण्डै १ करोड खर्चेर बनाए विश्वको सबैभन्दा ठुलो आईफोन

काठमाडौं । भारतीय मूलका बेलायती युट्युबर अरुण रुपैश मैनी उर्फ मिस्टर हुज द बोसले सबैभन्दा ठूलो आईफोन निर्माण गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । आईफोन १५ प्रो म्याक्सको डुप्लिकेट ६.७४ फिट (२.५४ मिटर) अग्लो आईफोन निर्माण गरेर उनले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । 

ग्याजेट र प्रविधिका बारेमा युट्युबमार्फत चर्चा गर्ने युट्युबर 'मिस्टर हुज द बोस'ले अर्का युट्युबर डीआईवाईप्रेक्ससँग सहकार्य गरेर यो कीर्तिमान कायम गरेका छन् । यस आईफोनमा ८८ इन्चको ओलेड डिस्प्ले रहेको छ । यसको पछाडि पट्टि ४०० वाटको टर्च अर्थात् फ्ल्याश लाइट छ । 

क्यामेराको सन्दर्भमा यसमा क्यानन ईओएस आर फाइभ क्यामेरा प्रयोग गरिएको छ । यस क्यामेराको मूल्य मात्र ३,५०० डलर (करिब चार लाख ६९ हजार रुपैयाँ) पर्ने बताइएको छ । फोनमा १२८ जीबीको र्‍याम छ भने २४ कोर इन्टेल कोर आईनाइन प्रोसेसर राखिएको छ । स्टोरेजको कुरा गर्नु पर्दा यसमा चार टीबीको एसएसडी राखिएको छ ।

यसबाट टेस्क्ट तथा ईमेल पठाउन, एप चलाउन र फोटो खिच्न सकिने बताइएको छ । सबैभन्दा रोचक विषय त के छ भने यसलाई चार्ज गर्नका लागि उनीहरूले विश्वकै सबैभन्दा ठुलो टाइप-सी चार्जर समेत बनाएका छन् । 

“म सानोमा गिनिज बुकका नयाँ नयाँ रेकर्ड पढ्नका लागि घण्टौं लाइब्रेरीमा हराउँथें,” गिनिज बुकसँग कुरा गर्दै उनले भनेका छन्, “यो सम्मान अहिले आफैँले पाउँदा आफैँलाई पत्याउनै नसकिने जस्तो लागिरहेको छ ।”

फोन निर्माणका लागि उनले ठुलो ओलेड टिभी प्रयोग गरेका छन् । त्यसमा टचस्क्रिनको फिचर थप्नका लागि टच-सेन्सेटिभ डिस्प्ले पनि राखिएको छ । फोनमा आल्मुनियमको फ्रेम राखिएको छ । 

आईफोन जस्तो यसमा आईओएस सिस्टम भने प्रयोग गरिएको छैन । मिस्टर हुज द बोसको टिमले एन्ड्रोइड ओएस प्रयोग गरेको छ । तर, फोनको इन्टरफेस भने आईफोनको जस्तै देखिन्छ । फोनमा फ्लपी बर्ड गेम खेलेको देखाइएको छ ।  

सो भिडिओ मिस्टर हुज द बोसको युट्युब च्यानलमा समेत अपलोड भइसकेको छ ।

उनका अनुसार यो फोनमा प्रयोग भएका विभिन्न सामानहरूको मूल्य ७० हजार ६३० डलर (करिब ९४ लाख ६४ हजार रुपैयाँ) परेको छ ।

 

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८१ १४:१७