काठमाडौं । बहु प्रतिक्षित आईफोन १६ सिरिज आज राति सार्वजनिक हुँदै छ । नेपाली समय अनुसार राति १०ः४५ मा हुने एप्पल इभेन्टमार्फत आईफोन १६ सिरिज सार्वजनिक हुन लागेको हो ।
त्यसो त एप्पलले हरेक वर्ष नयाँ आईफोन सिरिज सार्वजनिक गर्दै आएको छ । त्यसैले झट्ट हेर्दा सधैं भइरहने कार्यक्रमलाई किन महत्त्वका साथ हेरिन्छ भन्ने लाग्न सक्छ । वास्तवमा एप्पलले एप्पल इभेन्टमा फोन मात्रै सार्वजनिक गर्दैन । प्रिमियम फोन ब्रान्डको रूपमा स्थापित उसले विश्व बजारमा प्रतिस्पर्धा गर्न फोनमा के कस्ता पृथक् फिचर ल्याइएको छ भन्ने जानकारी पनि दिन्छ ।
यस वर्ष एप्पल इभेन्टलाई अनेकौं दृष्टिकोणले हेरिएको छ । बजारमा एन्ड्रोइड र आईओएसको प्रतिस्पर्धा भइरहँदा एप्पलले के नयाँपन ल्याएर आईओएसलाई अगाडि सार्छ भन्ने विषय महत्त्वपूर्ण छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगलाई स्मार्टफोन निर्माता कम्पनीले कसरी सदुपयोग गर्छन् भन्ने विषय महत्त्वपूर्ण बनेको छ ।
एन्ड्रोइडमा सामसङ र गुगलको सहकार्यले गर्दा ती कम्पनीले बजारमा स्तरीय एआई फिचर उपलब्ध गराउन थालिसकेका छन् । इन्टरनेट बिनै सामसङ र गुगल जस्ता कम्पनीका प्रिमियम फोनमा एआई फिचर प्रयोग गर्न सकिने भइसकेको छ । हालै सार्वजनिक भएको पिक्सेल नाइन सिरिजले पनि एआईकै कारण बढी चर्चा पायो ।
उक्त फोनमा हुने हार्डवेयर फिचरको कम, बरु एआई फिचरको बढी चर्चा भयो । यसै अङ्ग्रेजी वर्षको सुरुवातमा सार्वजनिक भएको सामसङको प्रिमियम फोन एस २४ सिरिजले पनि एआईकै कारण चर्चा बटुल्यो । उता आईफोनको प्रमुख बजार मानिने चीनमा पनि ह्वावे मेट ६० ले अमेरिकी प्रतिबन्ध चिर्दै सकारात्मक प्रभाव पारिरहेको छ ।
आईफोनले ह्वावेको सो मोडेलसँग पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यस बाहेक ह्वावेले मङ्गलबार तीन पटक फोल्ड गर्ने सकिने फोल्डेबल फोन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैले आज एप्पलले सार्वजनिक गर्ने आईफोन १६ मा कस्ता नयाँ एआई फिचरहरू समावेश गरिन्छ भन्ने विषय बढी चासोका साथ हेरिएको छ ।
त्यसो त एप्पलले आईफोन १६ लाई पहिलेका आईफोनभन्दा पृथक् देखाउन क्यामेरा डिजाइन थोरै परिमार्जन गरेको छ । विशेषगरी आईफोन १६ को बेस भेरियन्ट र प्लस भेरियन्टमा क्यामेरा भर्टिकल (ठाडो) राखिएको चर्चा छ ।
यसको सहायताले एप्पल भिजन प्रोका लागि उपयुक्त ‘स्पेसल भिडिओ’ खिच्न सकिने बताइएको छ । यी बाहेक प्रो र प्रो म्याक्स सिरिजमा लगभग क्यामेरा डिजाइन यस अघिका प्रो मोडेलमा जस्तै छ । नयाँ सिरिजमा कम्पनीले एक्सन बटनलाई परिमार्जन गरेको छ ।
यस वर्ष कम्पनीले ए १८ बायोनिक चिप सार्वजनिक गर्न लागेको छ । कम्पनीले हरेक वर्ष नयाँ आईफोनको प्रो र प्रो म्याक्स मोडेलका लागि आफ्नै शक्तिशाली चिपसेट समावेश गर्दै आएको छ । यस वर्ष प्रो र प्रो म्याक्स मोडेलमा ए १८ बायोनिक चिप हुनेछ ।
बेजल्स केही पातलो हुनेछ भने फोनमा नयाँ थर्मल डिजाइन देख्न सकिनेछ । ब्याट्री पहिलेका मोडेलभन्दा अलि पावरफुल हुनेछ । यस वर्ष कम्पनीले सबै मोडेलमा नयाँ बटन समावेश गर्दै छ । यसलाई ‘क्याप्चर’ वा ‘क्यामेरा’ बटन भनिने अपेक्षा गरिएको छ । यो बटन फोनको दायाँ पट्टि पावर बटनको तल हुनेछ ।
यस बटनमा विस्तारै थिच्दा अटो फोकस मोडमा फोटो वा भिडिओ खिचिनेछ । त्यस्तै अलि जोडले दबाउँदा फोटो खिच्नेछ । त्यसैगरी दाँया वा बायाँपट्टि स्वाइप गर्दा जुम इन र जुमआउट गर्न सकिने छ भने त्यसैबाट सोझै फोटो वा भिडिओमा स्विच गर्न सकिनेछ ।
आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स एप्पल इभेन्टका कार्यक्रमका मुख्य आकर्षक हुने नै भए । त्यस बाहेक कम्पनीले एप्पल वाच सिरिज १०, नयाँ एप्पल वाच अल्ट्रा टु, एप्पल वाच एसई थ्री, एयरपड्स फोर, एयरपड्स म्याक्स, आईप्याड मिनी सेभेन, आईप्याड ११ आदि सार्वजनिक गर्नेछ ।