आईफोन १६ सार्वजनिक भएसँगै अब एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्स बिक्री नगर्ने
भदौ २५, २०८१ १३:१५
काठमाडौं । आईफोन १६ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईफोन १५ प्रो र १५ प्रो म्याक्सको बिक्री बन्द गरेको छ । सोमबार राति आयोजित एप्पल इभेन्टमा कम्पनीले पुराना मोडेललाई निरन्तरता नदिने जानकारी दिएको हो ।
योसँगै एप्पलका आधिकारिक स्टोरहरूबाट यी मोडेल किन्न पाइने छैन । नयाँ मोडल सार्वजनिक गर्दा पुरानो मोडल बन्द गर्नु एप्पलको सामान्य प्रक्रिया हो । उस्तै मूल्यमा नयाँ विशेषता र क्षमताका फोन बिक्री गर्ने योजना अनुसार कम्पनीले यस्तो अभ्यास गर्ने गर्छ ।
यस वर्ष भने अघिल्लो सिरिजका टप भेरियन्टहरूलाई नै निरन्तरता नदिने भनेपछि यो विषयले बढी चर्चा पाएको छ ।
हुन त जति आइफोन १६ मा जेनेरेटिभ एआई तथा नयाँ हार्डवेयर परिवर्तनले चर्चा पायो, आईफोन १५ प्रो र प्रो म्याक्समा त्यस्ता कुनै फिचरले चर्चा पाएका थिएन । त्यसैले पनि कम्पनीले आईफोन १५ अन्तर्गतका टप भेरियन्टलाई निरन्तरता नदिने सुर बनाएको बुझिएको छ ।
एप्पलले अबदेखि आईफोन १३ पनि बिक्री नगर्ने भएको छ । कम्पनीले आईप्याड मिनी सिक्स, आईप्याड १०, एयरपड्स टु समेत विस्थापित गर्न लागेको छ । यी डिभाइसलाई एप्पलले विस्थापित गरे पनि रिफर्बिस्ड स्टोरहरूबाट भने खरिद गर्न सकिनेछ ।
नयाँ सिरिज सार्वजनिक भएसँगै कम्पनीले पुराना मोडेलको मूल्य घटाएको छ ।
-
आईफोन एसई- ४९९ डलर
-
आईफोन १४- ५९९ डलर (६९९ डलरबाट घटेको)
-
आईफोन १४ प्लस- ६९९ डलर (७९९ डलरबाट घटेको)
-
आईफोन १५- ६९९ डलर (७९९ डलरबाट घटेको)
-
आईफोन १५ प्लस- ७९९ डलर (८९९ डलरबाट घटेको)
पछिल्लो अध्यावधिक: भदौ २५, २०८१ १३:२९
