close

सामाजिक सञ्जालमा १ अर्ब फलोअर पुर्‍याएर रोनाल्डोले राखे दुर्लभ रेकर्ड

टेकपाना टेकपाना

भदौ २८, २०८१ ९:१२

सामाजिक सञ्जालमा १ अर्ब फलोअर पुर्‍याएर रोनाल्डोले राखे दुर्लभ रेकर्ड

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बनेका छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डोले शुक्रबार उक्त आँकडा पार गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युब, क्वाइस्चो र विबोमा गरी उनले एक अर्ब बढी फलोअर पाइसकेका छन् । बुधबार उनले युट्युबमा 'Road to 1 Billion… Let’s break the record together!' क्याप्सन राखेर युट्युबमा भिडिओ लाइभ गरेका थिए । सो भिडिओ अहिले पनि स्ट्रिमिङ भइरहेको छ । 

एक अर्ब फलोअरको आँकडा पार गरिसकेपछि उनले सामाजिक सञ्जालमा पोस्ट राख्दै आफ्ना समर्थकलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर सम्बन्धी कैयौं रेकर्ड आफ्नो नाममा बनाए । उनी सबैभन्दा कम समयमा एक लाख, १० लाख, २० लाख, ५० लाख, एक करोड, दुई करोड हुँदै पाँच करोड सब्सक्राइबर पाउन सफल भए । हालसम्म उनको युट्युब च्यानलमा छ करोड दुई लाख बढी सब्स्क्राइबर रहेका छन् । 

रोनाल्डोको इन्स्टाग्राम अकाउन्टमा ६३ करोड ९० लाख ६१ हजार बढी फलोअर रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनलाई १७ करोड पाँच लाख बढीले फलो गरेका छन् । रोनाल्डो इन्स्टा र फेसबुकमा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् ।

सामाजिक सञ्जाल एक्समा ११ करोड ३० लाख ३५ हजार बढी फलोअरका साथ उनी बढी फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।

युट्युबमा छ करोड पाँच लाख बढी सब्सक्राइबरका साथ उनी सबैभन्दा बढी सब्क्राइबर हुने च्यानलको शीर्ष ३८औं स्थानमा छन् । अन्य सामाजिक सञ्जालका अकाउन्टको तुलनामा रोनाल्डोले सबैभन्दा बढी फलोअर युट्युबबाट पाइरहेका छन् । 

चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा समेत रोनाल्डो जोडिएका छन्, जसमा उनलाई ९३ लाख ७२ हजार बढीले फलो गरेका छन् । चीनकै सामाजिक सञ्जाल विबोमा पनि रोनाल्डोको अकाउन्ट छ । उक्त प्लेटफर्ममा उनका फलोअर ७५ लाख ३०  हजार बढी छन् । 

यो समाचार तयार पार्दासम्म सबै सामाजिक सञ्जालमा गरी रोनाल्डोले एक अर्ब एक लाख बढी फलोअर पाएका छन् । एक अर्ब फलोअरको रेकर्ड बनाउने भन्दै भिडिओ लाइभ गरेपछि चिनियाँ प्लेटफर्ममा उनका फलोअर बढेका छन् । रोनाल्डो आफैंले ती अकाउन्टको औपचारिक जानकारी दिएकाले ती प्लेटफर्ममा फलोअर बढेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८१ ९:१८