close

पठाओले उठायो करिब पौने २ अर्ब लगानी

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १६:२४

पठाओले उठायो करिब पौने २ अर्ब लगानी

काठमाडौं । बङ्गलादेशी कम्पनी पठाओले हालै १२ मिलियन डलर (१.६ अर्ब रुपैयाँ) लगानी जुटाएको छ । कम्पनीले प्रि-सिरिज फन्डिङ राउन्ड बी अन्तर्गत सो रकम बराबरको लगानी उठाएको हो ।

‍बंगलादेशको प्रि-सिरिज बी स्टार्टअपले हालसम्म सङ्कलन गरेको यो सबैभन्दा ठुलो रकम भएको बताइएको छ । यसबारे कम्पनीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । जसअनुसार अब पठाओ ५० मिलियन डलर (करिब अर्ब रुपैयाँ) मूल्यको कम्पनीको भएको छ । यसले पठाओलाई फिनटेकतर्फ आफ्नो व्यापार विस्तार गर्न ठुलो सहयोग पुग्ने बताइएको छ । 

यो फन्डिङ राउन्ड मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रका भेन्चर क्यापिटल कम्पनी भेन्चरसोउकले नेतृत्व गरेका थिए । यसअन्तर्गत एङ्करलेस बङ्गलादेश, ओसाइरिस ग्रुप, साउथ एसिया टेक, ओपेनस्पेस भेन्चर्स जस्ता लगानीकर्ताहरूले पठाओमा लगानी गरेको बताइएको छ । 

पछिल्ला दुई वर्षमा पठाओ नाफामूलक र आर्थिक रूपमा बलियो कम्पनीको रूपमा उभिएको छ । लजिस्टिक, राइड-शेयरिङ र खाना डेलिभरीमा चम्किएको यस कम्पनीले फिनटेकमा पनि ठुलो प्रगति गर्ने अपेक्षा गरिएको छ । अहिले नै पठाओले बङ्गलादेशमा आफ्नो डिजिटल वालेट ‘पठाओ पे’ र ‘पठाओ पे लेटर’ सुरु गरिसकेको छ । यसबाट कुनै पनि सामान अहिले खरिद गरेर पछि रकम तिर्न सकिन्छ ।

यस लगानीको प्रभाव नेपाली कम्पनी पठाओ नेपालमा कत्तिको पर्छ, त्यसबारे भने स्पष्ट भइसकेको छैन । यद्यपि मूल कम्पनीले फिनटेक क्षेत्रमा समेत अग्रसरता देखाउने उद्देश्यका साथ लगानी जुटाएको सन्दर्भमा नेपालमा समेत पठाओ डिजिटल वालेट तथा वित्तीय प्रविधिको क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्न सक्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १६:२४