close

युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘रुकुम मैकोट’ पनि

टेकपाना टेकपाना

असोज ६, २०८१ २१:५३

युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘रुकुम मैकोट’ पनि

 

काठमाडौं । युट्युबको ग्लोबल म्युजिक ट्रेन्डिङमा नेपाली कथानक चलचित्र खुस्माको गीत ‘रुकुम मैकोट’ परेको छ । टिकटक, फेसबुक र इन्स्टाग्राममा समेत भाइरल यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको हो । 

विश्वका अधिकांश देशबाट हेरिएका शीर्ष १०० म्युजिक भिडिओमध्ये यो ७३ औं स्थानमा छ । 

नेपालमा यही गीत म्युजिक ट्रेन्डिङको शीर्ष स्थानमा छ । चार हप्ताअघि सार्वजनिक भएको यस गीतमा यो समाचार तयार पार्दासम्म एक करोड १७ लाख बढी भ्युज आइसकेको छ । एसडी योगी र शान्तिश्री परियारको स्वरमा सजिएको यस गीतमा धिरज मगर र उपसना सिंह ठकुरीको अभिनय छ । गीत सुरेन्द्र रानाले लेखेका हुन् । 

३ असोजमा सार्वजनिक भएको खुस्मा फिल्मले राम्रै व्यापार गरिरहेको छ । नेपालमा टिकटक प्रतिबन्ध लगत्तै बढी चर्चा पाएकामध्ये यो एउटा गीत हो । 

त्यस्तै यसअघि नेपालबाट ग्लोबल ट्रेन्डिङमा ‘कस्मिरे पछ्यौरी’ भाकाको गीत परेको थियो । सुरुवातमा शीर्ष ९९ मा परेको यो गीत शीर्ष ९२ हुँदै अहिले शीर्ष ८२ औं स्थानमा छ । 

पछिल्लो अध्यावधिक: असोज ६, २०८१ २१:५३