काठमाडौं ।राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधीकरण गर्दै तीन नयाँ सेवा थप गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक अशिममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । “हाल राइड शेयरिङका साथै फुड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्”, उनले भने । थप गरिएका सेवाहरू हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन् ।
कम्पनीले राइड शेयरिङ, फुड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरिसकेको छ । अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा पनि थपिने भएका हुन् । कम्पनीका अनुसार पठाओ किराना अन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाट सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ । पठाओ खाजा घरमार्फत स्थानीय खाजा पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ ।
विक्रेताहरू भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुन अनिवार्य रूपमा प्यानमा दर्ता भएको हुनुपर्ने कम्पनीले जनाएको छ । विक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । अर्थात् विक्रेताले पठाओ किराना र पठाओ खाजा मार्फत् भएको व्यापारको कमिसन बापत कुनै शुल्क बुझाउनु नपर्ने बस्न्यातले बताए ।
कम्पनीका अनुसार पठाओ किराना वा पठाओ खाजामा सहभागी हुन इच्छुक विक्रेताले पठाओ नेपालको फोन नम्बर ०१–५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् । त्यसपछि कम्पनीले दर्ता गरी ई–स्टोर बनाएर ड्याशबोर्ड उपलब्ध गराउनेछ ।
उक्त ड्याशबोर्डमार्फत विक्रेताले अर्डर राख्न, रेकर्ड राख्न, बिक्रीको तथ्याङ्क हेर्न, सामग्रीको सूची र पसल खुल्ने समय व्यवस्थापनसम्बन्धी काम गर्न सक्नेछन् । उक्त ड्यासबोर्ड कम्पनीको रेस्ट्रो एपबाट हेर्न र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । डेलिभरी भने किराना तथा खाजा घरका कर्मचारी आफैँ गर्नुपर्नेछ ।
पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रूपमा सञ्चालन हुनेछन् । तर पठाओले एक वर्षभित्र पूर्णरूपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओले गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । पठाओ एपको होम पेज मार्फत ग्राहकहरू गेम्समा जान सक्नेछन् । यी सबै सेवामार्फत ग्राहकलाई स्थानीय रूपमा ई-स्मार्ट बनाउने अपेक्षा गरिएको छ ।
हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ । २४ सेप्टेम्बर २०१८ देखि बाइक राइड शेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपालले १८ अगस्ट २०१९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।