काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण तथा वितरण प्रणालीमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले शनिवार काठमाडौं उपत्यकाको विद्युत् माग करिब ४०० मेगावाट रहेकामा २०० मेगावाट मात्र आपूर्ति भइरहेको जानकारी दिए । उनका अनुसार बानेश्वर सबस्टेसनबाट ललितपुरका गोदावरी, इमाडोल, लुभु र च्यासल क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ भने भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई दिइने विद्युत् बन्द भएको छ ।
पाटन सबस्टेसनबाट आपूर्ति हुने खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ, खोकना, हरिसिद्धी लगायतका फिडर पनि बन्द छन् । लैनचौर सबस्टेसनबाट गैह्रीधारा, टेकु सबस्टेसनबाट कीर्तिपुर, बाग्मती, ताहाचल र चक्रपथका फिडर प्रभावित भएका छन् ।
नयाँ चाबहिल र स्यूचाटार सबस्टेसनबाट हाँडीगाउँ, कालोपुल, कलंकी र बलम्बु रोपवे फिडरहरूमा पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
प्रवक्ता घोषले पानीको सतह बढ्दै गएको र धेरै ठाउँ जलमग्न भएकाले विद्युत् सेवा सञ्चालनमा ल्याउन कठिनाइ भएको बताए ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १८:४५
