काठमाडौं । ब्रोकर कम्पनीहरूले अब आफ्नै ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् । विभिन्न ब्रोकर कम्पनीहरूले सूचना जारी गर्दै आफ्नै टीएमएस ल्याउन लागेको जानकारी दिएका हुन् ।
आफैले शेयर कारोबारको आदेश दिन प्रयोग हुने टीएमएस बनाएर सेवा दिन लागेको ब्रोकर कम्पनी सेक्युअर्ड सेक्युरिटिज लिमिटेडले जनाएको छ । यसका लागि कम्पनीले tms.ssl.com.np वेबसाइट सञ्चालनमा ल्याउने छ ।
उक्त कम्पनीका अनुसार अब पुरानो टीएमएस tms36.nepsetms.com.np प्रयोगमा आउने छैन । यस कम्पनीसँग कारोबार गरिरहेका लगानीकर्ताले आफ्नो आधिकारिक ईमेलमा नयाँ टीएमएस प्रणालीको युजरनेम र पासवर्ड सम्बन्धी जानकारी पाउनेछन् ।
उक्त ईमेलमा उल्लिखित प्रक्रियालाई पालना गरी लगानीकर्ताले नयाँ प्रणालीमा लगइन गर्नसक्ने जनाइएको छ । नयाँ टीएमएस प्रणालीको वेबसाइट वा ‘अ ट्रेड डीजी ट्रेड नेपाल’ (ATrad DGTrade Nepal) नामक मोबाइल एपमार्फत लगानीकर्ताले आफ्नो युजरनेम र पासवर्डमार्फत कारोबार गर्नसक्ने छन् ।
त्यस्तै नासा सेक्युरिटिज, साउथ एसियन बुल्स प्रालि लगायतले पनि आफ्नै टीएमएस सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।