close

मिम भाइरल भएपछि एनआईसी एसिया बैंकले भन्यो, ‘हामीले त्यस्तो मेसेज पठाएका छैनौं’

टेकपाना टेकपाना

असोज १८, २०८१ १९:३६

मिम भाइरल भएपछि एनआईसी एसिया बैंकले भन्यो, ‘हामीले त्यस्तो मेसेज पठाएका छैनौं’

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा एउटा मिम निकै भाइरल भइरहेको छ । एनआईसी एसिया बैंकको नाम उल्लेख भएको उक्त मिमलाई केहीले फेसबुकमा रमाइलो सामग्रीका रूपमा लिएका छन् भने केहीले गम्भीर रूपमा लिएका छन् । 

उक्त मिममा सबैभन्दा माथि ‘NIC Alert’ भनेर मेसेज पठाउने कम्पनीको नाम उल्लेख छ । त्यसको तलपट्टि उक्त मेसेज पौने १ बजे प्राप्त भएको देखिएको छ । “आदरणीय ग्राहक महानुभाव, तपाईंले आफ्नो ब्यालेन्स हरेक ३० मिनेटमा जाँच गरिरहनु भएको छ । यदि तपाईंलाई हामीप्रति विश्वास छैन भने कृपया तपाईंको खातामा भएको २९ रुपैयाँ ८० पैसा निकाल्नु होला,” मेसेजमा लेखिएको छ ।

यो मिम भाइरल भएपछि एनआईसी एसिया बैंकले आफूहरूले त्यस्तो मेसेज नपठाएको प्रष्ट पारेको छ ।

“यस एनआईसी एसिया बैंक लिमिटेडबाट म्यासेज पठाएको भन्दै सामाजिक सञ्जालहरूमा आएका पोस्टहरू तथा म्यासेजहरू प्रति बैंकको गम्भीर ध्यानाकर्षण रहेको छ,” बैंकले सूचनामा लेखेको छ, “बैंकले यस्तो किसिमको कुनै पनि म्यासेज नपठाएको जानकारी गराउँदै यस्ता स्क्यामहरू प्रति सजग रहनुहुन तथा यस्ता म्यासेजका आधारमा कुनै किसिमको कारोबार नगर्नुहुन सम्पूर्ण ग्राहक महानुभावज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं ।”

यस्तो किसिमको मिमले भारतमा चर्चा पाइरहेको थियो । त्यसैको सिको गर्दै नेपालमा पनि यस्तो मिम बनाइएको हो ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ २२:३६