काठमाडौं । अहिले वेब ब्राउजरमा अनेकन् विकल्प छन् । तीमध्ये ‘आर्क सर्च’ (Arc Search) छोटो समयमै चर्चित बनेको छ । पहिला म्याकका लागि मात्र डेस्कटप ब्राउजरको रूपमा सुरु गरिएको आर्क सर्च आईओएस प्रयोगकर्ताहरूका लागि यस वर्षको जनवरीमा र विन्डोज प्रयोगकर्ताहरूका लागि अप्रिलमा सार्वजनिक भएको थियो । हालै गुगल प्लेस्टोरमा समेत यो ब्राउजर बेटा संस्करणका रूपमा उपलब्ध भएको छ ।
द ब्राउजर कम्पनीले २०२२ मा विकास गरेको यो ब्राउजरमार्फत प्रयोगकर्ताले खोजेको कुरा छिटो र सजिलै फेला पर्ने बताइएको छ । साथै सरल र प्रयोगकर्तामैत्री इन्टरफेसले बिना कुनै झन्झट वेब सर्फ गर्न मद्दत गर्ने तथा प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने दाबी गरिएको छ ।
यस एपमा ‘Browse for me’ नामको एआई सुविधा छ, जसले प्रयोगकर्ताको खोजीलाई सारांशमा बदल्ने काम गर्छ । साथै, यो एपले पुराना ट्याबहरू स्वतः अर्काइभ गर्ने, विज्ञापनहरू रोक्ने, डेटा ट्र्याकिङ पपअपहरू हटाउने सुविधा दिएको छ ।
यो ब्राउजरलाई कम्पनीले ‘इन्टरनेटका लागि अपरेटिङ सिस्टम’को रूपमा ब्रान्डिङ गर्दै आएको छ । एन्ड्रोइडमा आर्क ब्राउजर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।