काठमाडौं । चोरी भएको फोनलाई थप सुरक्षा गर्न एन्ड्रोइडमा नयाँ फिचर आउने भएको छ । यस फिचर आएपछि फोन चोरी गर्नेले तपाईंको डेटामा सजिलै पहुँच पाउन सक्दैनन् ।
सामाजिक सञ्जाल रेडिटमा गरिएको एक पोस्टका अनुसार यो फिचर साओमी १४ टी प्रोको नयाँ अपडेटमा देखिएको छ । अपडेटमा ‘थिफ्ट डिटेक्सन लक’ र ‘अफलाइन डिभाइस लक’ फिचर आएको उक्त पोस्टमा लेखिएको छ ।
कतिपयले भने रिमोट लकको फिचर पनि नयाँ अपडेटमा पाएको रेडिटमा उल्लेख गरेका छन् । गुगलले यी फिचर गत मे महिनामा घोषणा गरेको थियो ।
यीमध्ये थिफ्ट डिटेक्सन लकमा कसैले तपाईंको हातबाट फोन थुतेर लगे स्वतः स्क्रिन लक हुन्छ । यसका लागि एआई प्रयोग गरिएको छ । अफलाइन डिभाइस लकले भने डिभाइस लामो समयसम्म अफलाइन हुँदा स्क्रिन अफ गर्छ ।
त्यसैगरी रिमोट लकमा प्रयोगकर्ताले 'फाइन्ड माइ डिभाइस'को सहयोगमा फोन नम्बर राखेर टाढा रहेको फोनको स्क्रिन लक गर्न सक्छन् ।
तर अहिले यी फिचर सबै मोडेलमा उपलब्ध भइसकेको छैन । गुगलले कहिलेसम्म सार्वजनिक रुपमा यी फिचर उपलब्ध गराउँछ भनेर पनि जानकारी दिएको छैन । तपाईंले गुगल प्ले सर्भिस अपडेट गरेर यी फिचर आफ्नो फोनमा ल्याउने प्रयास गर्न सक्नुहुन्छ ।
थिफ्ट डिटेक्सन लक र अफलाइन डिभाइस लकका लागि एन्ड्रोइड १० अथवा सोभन्दा माथिको भर्सन हुन आवश्यक छ भने रिमोट लकका लागि एन्ड्रोइड ५ भन्दा माथिको भर्सन हुनुपर्ने जनाइएको छ ।