close

स्वचालित रोबो ट्याक्सीका कारण एकै रातमा गुम्यो मस्कको २० खर्ब रुपैयाँ

टेकपाना टेकपाना

असोज २७, २०८१ १२:३२

स्वचालित रोबो ट्याक्सीका कारण एकै रातमा गुम्यो मस्कको २० खर्ब रुपैयाँ

 

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै रातमा १५ अर्ब डलर (करिब २० खर्ब १३ अर्ब रुपैयाँ) ले घटेको छ । बिहीबार मस्कले सार्वजनिक गरेको बहुप्रतिक्षित स्वचालित ट्याक्सीको प्रोटोटाइपले लगानीकर्ता आकर्षित गर्न नसकेपछि टेस्लाको शेयरमा गिरावट आएको हो । 

जसको परिणाम एक रातमै मस्कले १५ अर्ब डलर भन्दा बढी गुमाएका हुन् । बिहीबार लस एन्जलसमा टेस्लाले रोबो ट्याक्सी इभेन्ट आयोजना गरेको थियो । त्यस कार्यक्रममा मस्कले बहुप्रतिक्षित साइबर क्याब (रोबो ट्याक्सी) र रोबोभ्यान (स्वचालित भ्यान) को प्रोटोटाइप सार्वजनिक गरेका थिए ।

विद्युतीय सवारी निर्माता कम्पनी टेस्लामा मस्कको १३ प्रतिशत शेयर छ । बिहीबारको कार्यक्रमपछि लगानीकर्ता आकर्षित नहुँदा टेस्लाको शेयरमा ९ प्रतिशत गिरावट आएको थियो । यसअघि प्रति शेयरको मूल्य २३८.७७ डलर रहेकोमा घटेर २१७.८० डलर पुगेको हो । 

ब्लुम्बर्ग बिलिनियर इन्डेक्सको अद्यावधिक जानकारी अनुसार यस लगतै मस्कको सम्पत्ति १५ अर्ब डलरले घटेको छ । अहिले मस्क २४० अर्ब डलर सम्पत्तिका साथ विश्वकै शीर्ष धनाढ्य व्यक्तिको स्थानमा छन् । 

गत जुलाइमा मस्कले ‘वि, रोबोट’ कार्यक्रम ढिलाइ गर्दा टेस्लाको शेयरमा यस्तै गिरावट आएको फोर्ब्सले उल्लेख गरेको छ । त्यतिबेला टेस्लाको शेयर सात प्रतिशतले झरेको थियो । 

मस्कले सार्वजनिक गरेको साइबर क्याबमा दुई जना यात्रु मात्र अटाउँछन् । त्यसमा न स्टेरिङ छ न पेडल नै छ । यो सन् २०२७ भित्र सञ्चालनमा आउने मस्कको भनाइ छ । पहिलो चरणमा २० ओटा साइबर क्याब सार्वजनिक भएका छन् । एउटाको मूल्य ३० हजार डलर (करिब ४० लाख रुपैयाँ) कायम गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २७, २०८१ १२:३२